अछाम– कर्णाली नदीमा रहेको झोलुंगे पुलको जाली लत्रिँदा १३ खच्चड बीच भागमै अड्किएका छन् । अछामको पञ्चदेवल विनायक नगरपालिका–९, कालेकाडा र दैलेखको आठबिस नगरपालिका–६ , खिड्किजिउला जोडने झोलुंगे पुलको जाली लत्रिएको हो ।

खुट्टा जालीभित्र पसेपछि आइतबार बिहानदेखि खच्चड पुलको बीच भागमै अड्किएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । ‘खुट्टा पूरै जालीभित्र पसेपछि १३ खच्चड त्यहाँबाट निस्किन पाएका छैनन्,’ उनले भने, ‘उद्धारका लागि अछाम र दैलेखका विभिन्न प्रहरी चौकीबाट ठूलो संख्यामा प्रहरी घटनास्थलमा खटाएका छौं ।’

भारीसहितका खच्चड एकसाथ हिँड्न थालेपछि पुलको एकतर्फको जाली लत्रिएको बताइएको छ । खट्टा जालीभित्र पसेपछि खच्चड घाइते भएका छन् । आज बिहान ११ बजे कर्णाली नदीमा निर्मित झोलुंगे पुलको दाहिनेतर्फको भाग लत्रिएको हो । पुलको दाहिनेतर्फको भाग पूरै बांगो भएको छ । अहिले उक्त पुलमा आवतजावत बन्द छ ।

व्यापारीले चिल्तडाबाट दैलेखको खिड्किजिउलातर्फ खच्चडलाई सामान बोकाएर लैजाँदै थिए । उद्धारको पहल गर्न अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहितको टोली अहिले घटनास्थलतर्फ गएको छ । अछामस्थित नेपाली सेनाको गोरख बक्स गणको टोली पनि उद्धारका लागि त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय