काठमाडौं– चालु आर्थिक वर्ष २०८०–८१ को ११ महिनामा सरकारको विकास बजेट ४४.६७ प्रतिशत मात्रै खर्च भएको देखिएको छ । यही अवधिमा सरकारले चालुतर्फ वार्षिक लक्ष्यको ७२ दशमलव छ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ७२.७ प्रतिशत बराबर बजेट खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

चालु आवका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको थियो । सोमध्ये चालु शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख विनियोजन भएकामा जेठ मसान्तसम्ममा ८ खर्ब २२ अर्ब ८० करोड ९३ लाख रुपैयाँ खर्च भएको छ ।

पुँजीगत शीर्षकमा सरकारले ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख बजेट विनियोजन गरेकामा जेठ मसान्तसम्ममा १ खर्ब ३४ अर्ब ९७ करोड ९२ लाख रुपैयाँ मात्रै खर्च भएको छ । पुँजीगत शीर्षकमा हालसम्म खर्च भएको यो रकम सुरुआती लक्ष्यको ४४.६८ प्रतिशत बराबर हो ।

वित्तीय व्यवस्था शीर्षकमा चालु आर्थिक वर्षका लागि ३ खर्ब ७ अर्ब ४५ करोड ३६ लाख रुपैयाँ विनियोजन भएकामा ७२.७ अर्थात २ खर्ब २३ अर्ब ५० करोड ८८ लाख रुपैयाँ खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकको बजेट सरकारी ऋणको साँवाब्याज तिर्नमा खर्च हुने गरेको छ ।

यो अवधिसम्मको सरकारी राजस्व संकलन वार्षिक लक्ष्यको ६४.१५ प्रतिशत बराबर छ । चालु आर्थिक वर्षका लागि सरकारले १४ खर्ब २२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकामा ९ खर्ब ४४ अर्ब ५८ करोड ९४ लाख रुपैयाँ खर्च भएको छ । सोमध्ये कर राजस्व शीर्षकमा १३ खर्ब ५ अर्ब ४९ करोड ९६ लाख रुपैयाँ असुली गर्ने सरकारी लक्ष्य रहेकामा हालसम्म ६३.५ प्रतिशत अर्थात ८ खर्ब २९ अर्ब ३ करोड ९२ लाख बराबर संकलन भएको छ ।

गैरकर राजस्वतर्फ सरकारले १ खर्ब १७ अर्ब ६ करोड २१ लाख रुपैयाँ उठाउने लक्ष्य राखेकामा हालसम्म वार्षिक लक्ष्यको ७७ प्रतिशत अर्थात ९० अर्ब १ करोड रुपैयाँ मात्रै संकलन भएको देखिन्छ ।

चालु आर्थिक वर्षका लागि सरकारले ४९ अर्ब ९४ करोड ३० लाख बराबर वैदेशिक अनुदान उठाउने लक्ष्य राखेको थियो । हालसम्म उठेको वैदेशिक अनुदानको अवस्था हेर्दा वार्षिक लक्ष्यको ५.५२ प्रतिशत २ अर्ब ७५ करोड ८० लाख बराबर मात्रै संकलन भएको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय