
काठमाडौं– काठमाडौंको विशालबजारस्थित श्री रिद्धिसिद्धि ज्वेलर्स प्रालिले सामाजिक सञ्जालमार्फत गरिरहेको विज्ञापनप्रति विभिन्न ९ संस्था आबद्ध सुनचाँदी व्यवसाय तथा कालिगड बचाउ अभियान २०८१ ले आपत्ति जनाएको छ ।
रिद्धिसिद्धिले सुनको मूल्य अत्यधिक बढेको बेला ग्राहकलाई राहत दिन ज्याला र जर्तीमा भारी छुट दिने भन्दै ज्याला र जर्तीस्वरुप ७ प्रतिशतमा लिएर सुनका गरगहना बिक्री गर्ने विज्ञापन गरिरहेको छ । अभियानले यसबाट व्यावसायिक एकता र एकरुपतामा गम्भीर आँच आउने जिकिर गर्दै उक्त विज्ञापनलाई भ्रामक भनेको छ ।
रत्न व्यवसायी संघ नेपाल, नेपाल सुनचाँदी शिल्प व्यवसायी संघ, नेपाल सुनचाँदी कला व्यवसायी संघ, नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च, नेपाल राष्ट्रिय सुनचाँदी कालिगड संघ, काठमाडौं सुनचाँदी व्यवसायी संघ, ललितपुर सुनचाँदी व्यवसायी संघ, नेपाल रत्न तथा आभूषण संघ र नेपाल सुनचाँदी व्यवसायी संघ काभ्रे आबद्ध रहेको अभियानले बिहीवार जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘यस्तो भ्रामक विज्ञापनबाट हाम्रो कला, संस्कृति, व्यवसाय र कालिगड लोप हुने खतरा बढेको छ । सस्तो लोकप्रियता र क्षणिक आकर्षणका नाममा नेपाली कला, संस्कृतिमाथि धावा बोल्ने उक्त कम्पनीको नियतमाथि प्रश्न उठेको छ ।’
अभियानले अवैध मार्गबाट भित्र्याइएको सुन तथा विदेशबाट आयातित मेसिन निर्मित गरगहनाहरुमा मात्र कमभन्दा कम ज्याला जर्तीमा सम्भव भएको तर वैध मार्ग तथा बैंकबाट खरिद गरिएको सुनबाट कुनै हालतमा पनि ७ प्रतिशत ज्याला जर्तीमा निर्माण गर्न नसकिने तर्क अभियानले गरेको छ ।
‘हामी प्रश्न गर्न चाहन्छौं– उक्त कम्पनीले सुन खरिद कहाँबाट गर्छ ? यसको छानबिन आवश्यक छ । उक्त कम्पनीको वैधानिक खरिद र कुल वार्षिक कारोबारको अंकबीचको अपत्यारिलो भिन्नताले अवैध स्रोतबाट प्राप्त सुनकै कारण श्री रिद्धिसिद्धि ज्वेलर्स वर्षौंदेखि चल्दै आएको तथा उपभोक्ता, व्यवसायी र नियामक निकाय समेतले स्वीकार गरेको अभ्यास विपरीत कम जर्ती लिएर विक्री गर्न सक्ने अवस्थामा पुगेको हाम्रो निष्कर्ष छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ उक्त कम्पनीको कारोबारको छानबिन गर्न हामीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, वाणिज्य विभाग राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगायत अन्य सम्बन्धित निकायलाई पत्राचार गरिसकेको जानकारी गराउँदछौं ।’
सरकारले काँचो सुन आयातमा लाग्ने भन्सार महशुल १५ बाट २० प्रतिशत पुर्याएपछि नेपालमा भन्दा भारतमा सुन सस्तो भएको र यही मौकामा श्री रिद्धिसिद्धि ज्वेलर्सले विदेशी गरगहना अवैध बाटोबाट ल्याएर कम जर्तीमा बेचेको हुन सक्ने आशंका गरिएको विज्ञप्तिमा उल्लेख छ । ‘शंकास्पद कारोबारको छानबिन हुने डरले भएको स्टक सिध्याएर यो व्यवसायबाटै पलायन भई बिदेसिने मनसायले यस्तो आत्मघाती कदम चालेको हुनुपर्ने हाम्रो निष्कर्ष छ,’ विज्ञप्तिमा भनिएको छ ।
विगत २५ वर्षदेखि उक्त कम्पनीले ज्याला जर्तीसहित १२ देखि २२ प्रतिशतमा गरगहना विक्री गर्दै आइरहेकोमा हाल आएर एकलौटी रुपमा सस्तो लोकप्रियताका लागि जर्ती हटाएर केबल १५ दिनको लागि उपभोक्ताको आँखामा छारो हाल्न ७ प्रतिशत ज्याला लिने भनी भ्रमपूर्ण विज्ञापन प्रकाशित गरेको पनि अभियानले आरोप लगाएको छ । ‘यसबाट आम उपभोक्तालाई साँच्चिकै न्याय भएको हो त ?’ विज्ञप्तिमा प्रश्न गरिएको छ ।
उपभोक्ताको बृहत्तर हितको लागि दिगोरुपमा सुनचाँदीको गरगहना खरिदविक्री गर्ने हो भने उक्त भ्रामक विज्ञापनको पछि नलाग्न पनि अभियानले अपिल गरेको छ । उक्त कम्पनीको कदम र नियतको छानबिन गर्न पनि सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।
सुनचाँदीका गरगहना निर्माणमा संलग्न कालिगडले श्री रिद्धिसिद्धि ज्वेलर्सका सञ्चालक नरेन्द्रकुमार गुप्ताको पूर्वप्रतिबद्धतामा पनि प्रश्न उठाएको विज्ञप्तिमा उल्लेख छ । ‘गुप्ताले यसअघि साना श्रमजीवी व्यवसायी तथा हजारौं कालिगड आफ्नो साथमा रहेको र आफू उनीहरुको हकहितको पक्षमा वकालत गरिरहेको बारम्बार बताउँदै आएका थिए,’ विज्ञप्तिमा भनिएको छ, ‘अहिले उनै गुप्ताबाट आफूहरुको पेटमा लात हान्ने काम भएको गुनासो साना श्रमजीवी व्यवसायी तथा कालिगड र मजदुरहरुको रहेको छ ।’