काठमाडौं– दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत निर्मलकुमार विश्वकर्मा र नेपाल उद्योग परिसंघ (सिएनआई) का पदाधिकारीबीच आइतबार परिसंघ सचिवालयमा भेटघाट एवं छलफल भएको छ । छलफलमा राजदूत विश्वकर्माले नेपाल र अफ्रिकी मुलुकहरुबीच हुने व्यापार सम्बन्धबारे चासो देखाएको परिसंघले जनाएको छ ।

उनले आफ्नो कार्यक्षेत्रभित्र पर्ने १२ वटा मुलुकमा व्यापार तथा लगानीका सम्भाव्यताहरुको पहिचान गरी नेपालसँगको व्यापार प्रवर्द्धन तथा देशमा लगानी भित्र्याउने सम्बन्धमा सक्दो पहल गर्ने बताएका छन् । दक्षिण अफ्रिकी मुलुकहरुमा रहेका उद्योग व्यवसायसँग आवद्ध संस्थाहरुको पहिचान गरी नेपाल र दक्षिण अफ्रिकी चेम्बरहरुसँगको सहकार्यमा निर्यात प्रवर्छन र लगानी विस्तारका क्षेत्रमा सहकार्य गर्ने वातावरण बनाउन पहल गर्ने उनले आश्वासन दिएका छन् ।

छलफलका क्रममा परिसंघ अध्यक्ष सतीषकुमार मोरले नेपालले आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राखी कूटनीतिका माध्यमबाट देशमा लगानी भित्र्याउन र निर्यात प्रवर्द्धन गर्न विशेष पहल गर्नुपर्ने बताए । दूतावासमा नेपाली उत्पादन प्रदर्शन गर्न प्रदर्शनी केन्द्र स्थापना गरी निर्यात प्रवर्द्धनमा सघाउ पुर्याउनले अध्यक्ष मोरले राजदूत विश्वकर्मालाई अनुरोध गरेका छन् ।

अध्यक्ष मोरले नेपालमा दक्षिण अफ्रिकाबाट ठूलो मात्रामा कोइला आयात भइरहेको सन्दर्भ उल्लेख गर्दै नेपालबाट पनि हस्तकलाका सामान, पस्मिना, ऊनी कपडा लगायत उत्पादन निर्यात गर्न पहल गर्नुपर्ने धारणा राखे । स्वदेशमानै औद्यागिकीकरणको माध्यमबाट रोजगारी सिर्जना गर्न र लगानीमैत्री वातावरण तयार गर्न परिसंघ निरन्तर लागिरहेको उल्लेख गर्दै अफ्रिकी मुलुकबाट पनि लगानी भित्र्याउन सकिने उनले बताए । यसको लागि परिसंघको रिसर्च सेलले नेपाल र दक्षिण अफ्रिकाबीचको व्यापार तथा लगानीका क्षेत्रमा अध्ययन गरिरहेको पनि मोरले जानकारी दिए ।

राजदूत विश्वकर्मासँगको छलफलमा परिसंघका उपाध्यक्षहरु राजेश अग्रवाल, विरेन्द्रराज पाण्डे र परिसंघ प्रदेश २ का संयोजक नरेश दास लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय