गण्डकी– करोडौं खर्चेर बनाइएका यहाँका चार विमानस्थल प्रयोगविहीन बनेका छन् । मनाङको हुम्डे, गोरखाको पालुङटार, बागलुङको बलेवा र ढोरपाटन विमानस्थल सञ्चालनमा छैनन् । लामो समयदेखि बन्द अवस्थामा रहेका ती विमानस्थल पुनःसञ्चालनमा ल्याउन धावनमार्ग कालोपत्रलगायत पूर्वाधार निर्माण गरिएका छन् तर विमानस्थल चल्ने/नचल्ने कुनै टुंगो छैन ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पूर्वाधारतर्फ हुम्डेमा १० करोड, पालुङटारमा ७ करोड, बलेवामा १२ करोड र ढोरपाटन विमानस्थलमा २ करोड रुपैयाँ खर्च भएको छ । मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा रहेको हुम्डे विमानस्थलको धावनमार्ग कालोपत्र भएको एक दशक बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । प्राधिकरणले २०६९ मा ९ करोड खर्चेर हुम्डेमा धावनमार्ग कालोपत्र गरेको थियो ।
धावनमार्ग कालोपत्र भएपछि २०७६ भदौमा समिट एयरको विमानले विमानस्थलमा परीक्षण उडान भरेको थियो । परीक्षण उडान सफल भएपछि नियमित उडान हुनेमा आशावादी रहेका मनाङवासी अहिले भने निराश छन् । लाखौं रकम खर्चेका हुम्डे विमानस्थल परीक्षण उडानमै सीमित रहेकामा सदरमुकाम चामेका पर्यटन व्यवसायी फुर्वा छिरिङ लामाले गुनासो गरे । ‘२०३९ देखि २०६८ सम्म विमानस्थल नियमित चल्यो, अहिले बन्द अवस्थामा छ । यात्रुको अभाव भएर पनि नचलेको हुनसक्छ तर लगानी गरिसकेपछि त्यसको उपयोग त गर्नुपर्छ नि,’ उनले भने ।
बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल पनि नियमित उडानका लागि तयारी अवस्थामा छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन वर्षअघि ८ करोड २४ लाख खर्चेर विमानस्थलको धावनमार्ग कालोपत्र गरेको थियो । विसं २०२२ मा बनेको यो विमानस्थल पोखरा–बागलुङ सडक बनेपछि २०४८ मा बन्द भएको थियो । २६ वर्षपछि २०७४ चैत ९ गतेदेखि पुनःसञ्चालनमा ल्याइएकामा त्यसले पनि निरन्तरता पाउन सकेन, केही महिनापछि विमानस्थलमा उडान बन्द बन्द गरियो ।
त्योबेला नेपाल र तारा एयरलाइन्सको ट्विनअटर विमानले हप्ताको दुई दिन उडान भर्थे । १९ सिट क्षमताका जहाजमा १२ भन्दा कम यात्रु भए बागलुङ नगरपालिकाले भार व्यहोर्ने गरी नागरिक उड्डयन प्राधिकरण, विमान कम्पनी र नगरपालिकाबीच सम्झौता भएको थियो । पछि यात्रु पनि घटेर नगरपालिकालाई आर्थिक बोझ थपिँदै गएपछि विमान सेवा बन्द हुन पुगेको हो । विमान कम्पनीले सुरुमै बागलुङ–काठमाडौंको भाडादर ६५ सय तोकेपछि यात्रुले महँगो भएको गुनासो गरेका थिए ।
गोरखाको पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तनले पालुङटार विमानस्थलको स्तरोन्नति गरी सञ्चालनमा ल्याउने योजना अलपत्र परेको बताए ।