बुटवल– ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको नयाँ सञ्चालक समितिमा पुनः जगत पोखरेलकै नेतृत्वमा पुरानै सञ्चालक सदस्यहरु निर्वाचित भएका छन् ।

बुटवलमा सम्पन्न कम्पनीको प्रथम साधारण सभाले संस्थापक अध्यक्ष पोखरेल नेतृत्वको सञ्चालक समितिमा संस्थापक सदस्यहरु दिपक बोहरा, रचितकुमार अग्रवाल, पूजा सिंगल र नमराज न्यौपानेलाई नै चार वर्षका लागि निर्वाचित गरेको हो ।

अध्यक्षमा निर्वाचित पोखरेल लघुवित्त महासंघ नेपाल, भिजन लुम्बिनी कम्पनी लिमिटेड, भिजन लुम्बिनी ऊर्जा कम्पनीलगायत कम्पनीको संस्थापक तथा बहालवाला अध्यक्ष हुन् भने आरम्भ चौतारी माईक्रो फाईनान्सको संस्थापक अध्यक्ष र लुम्बिनी मेडिकल कलेजको संस्थापक हुन् ।

कम्पनीको साधारणसभाले आगामी आर्थिक वर्षमा सर्वसाधारणका लागि सेयर (आईपीओ) गर्ने प्रस्ताव समेत पारित गरेको कम्पनीका उपकार्यकारी प्रमुख अधिकृत विश्वजन थापा श्रेष्ठले जानकारी दिए ।

बुटवलमा प्रधान कार्यालय र काठमाडौमा कर्पोरेट कार्यालय रहेको कम्पनीले लुम्बिनी प्रदेशका ग्रामिण भेगका सर्वसाधारणलाई बीमाको पँहुचमा ल्याउने उद्धेश्यले घुम्ती बीमा सेवा सुरु गर्ने निर्णय पनि गरेको छ ।

घुम्ती बीमा सेवाका लागि कम्पनीका नेपाल विमा प्राधिकरणका लुम्बिनी प्रदेश प्रमुख पूर्णवहादुर थापा, कम्पनीका अध्यक्ष पोखरेल र प्रमुख कार्यकारी अधिकृत उज्जवल ढुंगानाले संयुक्त रुपमा मोबाइल भ्यानको समेत उद्घाटन गरे ।

मोबाइल भ्यानमार्फत सर्वसाधारणलाई उनीहरुकै टोल छिमेकमा पुगेर तत्कालै बीमालेख उपलब्ध गराउने तथा बीमा दाबी प्रकृयाको बारेमा सचेतना सहितको सेवा कम्पनीले दिने सिइयो ढुंगानाले बताए ।

गत चैत ९ गतेदेखि औपचारिक रुपमा बुटवलबाट सेवा सुरु गरेको ट्रष्ट माइक्रो इन्स्योरेन्सले देशभरका झन्डै १ दर्जन शाखा तथा उपशाखामार्फत सेवा प्रदान गर्दै आएको छ ।

सेवा शुभारम्भ गरेको छोटो समयमै राम्रो कारोबार गर्न सफल दाबी गरेको उक्त माइक्रो इन्स्योरेन्सले ७ लाखसम्मको सामुहिक तथा व्यक्तिगत दुर्घटना बिमा, ५० लाख रुपैयाँसम्मको घर, सम्पत्ति र सवारी साधन बिमा सेवा दिने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय