
काठमाडौं– डेडिकेटेड फिडर र ट्रंक लाइनबाट दिइएको बिजुलीको महशुल विवादमा ६ वटा उद्योगमा काटिएको विद्युत् नेपाल विद्युत् प्राधिकरणले जोडिदिने भएको छ ।
महशुल नतिरेको भन्दै प्राधिकरणले असार अन्तिम साता रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ उद्योगको लाइन काटेको थियो ।
मंगलबार बसेको प्राधिकरणको सञ्चालक समिति बैठकले ती उद्योगहरूमा बिजुली जोड्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले ती उद्योगमा तुरुन्त लाइन जोडिदिन ऊर्जा मन्त्रालय र प्राधिकरण नेतृत्वलाई चर्को दबाब दिएका थिए ।
आगामी तीन महिनाभित्र उद्योगीहरूले बक्यौता महशुल भुक्तानी नगरेमा पुनः नियम अनुसार बक्यौता रकम असुली गर्ने सर्तमा प्राधिकरणले ती उद्योगहरूको बिजुली जोड्ने निर्णय गरेको हो ।
प्राधिकरणको बहुमत सञ्चालकको निर्णयमा सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्यले भने फरक मत राखेको स्रोतले बताएको छ । उनीहरूले विद्युत् महसुल उठ्ने ग्यारेन्टी नभई काटिएको लाइन जोड्न नहुने मत राखेको स्रोतले बतायो ।