
काठमाडौं– सौर्य एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलबाट उडे लगत्तै भुइँमा बजारिएको छ । घटनास्थलमा दुई जनाको शव फेला परेको उद्धारकर्मीले बताएका छन् ।
जहाजमा सवार केहीलाई उद्धार गरेर अस्पताल पठाइएको छ भने अन्यको खोजी कार्य जारी रहेको विमानस्थल प्रहरीले जनाएको छ । जहाजका क्याप्टेनलाई पनि घाइते अवस्थामा उद्धार गरी अस्पताल लगिएको खबर छ ।
काठमाडौंबाट पोखराका लागि उडेको जहाज बुधबार बिहान ११ बजे दुर्घटना भएको हो ।
विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भूइँमा खसेको बताइएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको थियो ।
दुर्घटनाग्रस्त जहाजमा कम्पनीका इन्जिनियर, कर्मचारी र चालकदलका सदस्य गरी १९ जना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।