हेटौंडा– बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले पदभार ग्रहण गरेका छन् ।

मुख्यमन्त्री लामालाई मन्त्रिपरिषद्का प्रमुख सचिव गोविन्दबहादुर कार्कीलगायत अधिकृत तथा कर्मचारीहरुले स्वागत गरेका छन् ।
नवनियुक्त मन्त्रीहरुले पनि आ–आफ्नो मन्त्रालयमा आजै पदभार ग्रहण गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयका प्रमुख सचिव गोविन्दबहादुर कार्कीले बताए ।

यसअघि मुख्यमन्त्री लामाले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।

मुख्यमन्त्री लामाले सपथ लिएसँगै १० सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई मुख्यमन्त्री लामाले प्रदेश प्रमुख शर्माको उपस्थितिमा सपथग्रहण गराएका थिए ।

नवनियुक्त मन्त्रीहरुमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट प्रकाश श्रेष्ठ कृषि तथा पशुपन्छी, किशोर सिलवाल वन तथा वातावरण, किरण थापा स्वास्थ्य, अमन मास्के भौतिक योजना तथा पूर्वाधार, शुकमाया तामाङ उद्योग, वाणिज्य भूमि तथा प्रशासन, प्रेमभक्त महर्जन श्रम, रोजगार तथा यातायात तथा नेपाली कांग्रेसका तर्फबाट कुन्दनराज काफ्ले, श्याम खड्का र मधु श्रेष्ठलाई विनाविभागीय मन्त्रीको जिम्मेवारी तोकिएको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले बताए ।

शपथ ग्रहण समारोहमा बागमती प्रदेशका सभामुख भुवनकुमार पाठक, उपसभामुख अप्सरा चापागाईं र निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेल उपस्थित थिए ।

बागमती प्रदेशसभाको ६४ जना सदस्यहरुको समर्थनमा प्रदेश प्रमुख शर्माले लामालाई मुख्यमन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्री लामा नुवाकोट निर्वाचन क्षेत्र २ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

बागमती प्रदेशसभाको पहिलो कार्यकालमा नेकपा (एमाले)का तर्फबाट मुख्यमन्त्रीमा डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य र एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री थिए ।

दोस्रो कार्यकालमा नेकपा (माओवादी केन्द्रका) शालिकराम जम्कट्टेल मुख्यमन्त्री भएका थिए । हालका मुख्यमन्त्री लामा जम्कट्टेलको मन्त्रिपरिषद्मा आर्थिक मामिला मन्त्री थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय