कञ्चनपुर– तेस्रो मुलुकका पर्यटक पश्चिमी सीमा नाका गड्डाचौकीबाट भारत प्रवेश गर्न पाउने भएका छन् । भारतीय अध्यागमन कार्यालयले लामो समयदेखि विदेशी पर्यटकका लागि बन्द गरेको आगमन पुनः खुला गरेको छ ।

अध्यागमन कार्यालय गड्डाचौकीका निमित्त कार्यालय प्रमुख पदमराज भट्टका अनुसार भारतीय पक्षले यही साउन १५ गतेदेखि विदेशी पर्यटकलाई उक्त नाकाबाट आफ्नो मुलुकमा प्रवेश दिन थालेको हो । १० डिसेम्बर २०२१ देखि भारतीय सीमावर्ती बनबसा अध्यागमन कार्यालयले विदेशी पर्यटकको आगमन बन्द गरेको थियो ।

कोरोना महामारीका बेला नेपालका केही सीमा नाका मात्रै भारततर्फ जाने पर्यटकका लागि भारतले खुला गरेको थियो । गड्डाचौकी नाका भएर जाने विदेशी पर्यटकलाई भारतले रोक लगाएको थियो ।

केन्द्रबाटै केही सीमा नाका मात्रै भारततर्फ जाने विदेशी पर्यटकका लागि खुला गर्ने निर्णयअनुसार त्यस बेलादेखि रोकिएको उनको भनाइ छ । विदेशी पर्यटकका लागि सीमा नाका खुला गरिएको भन्दै पर्यटक पठाउन भारतीय अध्यागमन कार्यालयले जानकारी दिएको कार्यालय प्रमुख भट्टले बताए ।

‘भारतीय अध्यागमन कार्यालयले विदेशी पर्यटकलाई प्रवेशमा रोक लगाउँदा सीमा नाका हुँदै भारततर्फ जाने पर्यटको संख्या तीन वर्षदेखि ठप्प रहेको थियो,’ कार्यालय प्रमुख भट्टले भने, ‘सीमा नाका भारतले खुला गरेपछि पर्यटकीय गतिविधिमा वृद्धि हुने अपेक्षा गरेका छौं ।’

भारत हुँदै नेपाल प्रवेश गर्ने पर्यटकका लागि भने सीमा नाका खुला रहेको थियो । भारतीय अध्यगमन कार्यालयबाट विदेशी पर्यटकलाई प्रवेश दिएसँगै पर्यटकलाई प्रस्थान अनुमति दिन सुरु गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय