वीरगन्ज– मुलुकको प्रमुख व्यापारिक नाका वीरगन्जबाट खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको आयात घटेको छ । गत वर्ष वीरगन्ज नाकाबाट अघिल्लो वर्षको तुलनामा खाना पकाउने ग्यास ४ र हवाई इन्धन ७१ प्रतिशतले कम आयात भएको छ ।
आर्थिक वर्ष २०७९–८० मा वीरगन्ज नाकाबाट ३३ अर्ब १३ करोड रुपैयाँको २ लाख ९० हजार २८७ मेट्रिक टन खाना पकाउने ग्यास आयात भएकोमा आर्थिक वर्ष २०८०–८१ मा ३० अर्ब मूल्यको २ लाख ६७ हजार ४८ मेट्रिक टन ग्यास आयात भएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले जानकारी दिए । उनका अनुसार गत वर्ष ग्यास अघिल्लो वर्षको तुलनामा ११ हजार २३८ मेट्रिक टन कम आयात भएको हो ।
भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांघअनुसार अघिलो आवमा वीरगन्ज नाकाबाट १७ अर्ब ३१ करोडको ५लाख ९७ हजार १४४ किलोलिटर हवाई इन्धन आयात भएकामा गत आर्थिक वर्षमा १८ अर्ब २१ करोडको १ लाख ७३ हजार ४८४ किलोलिटर आयात भएको छ ।
सूचना अधिकारी कर्णले खाना पकाउने ग्यास र हवाई इन्धनको आयातमा संकुचन देखिए पनि नेपालमा सबैभन्दा बढी इन्धनका रुपमा उपयोग हुने डिजल र पेट्रोलको आयात भने बढेको बताए । वीरगनज नाकाबाट आर्थिक वर्ष २०७९–८० को तुलनामा गत आर्थिक वर्षमा डिजेल ४ प्रतिशत र पेट्रोलको आयात २ प्रतिशतले बढेको उनले जानकारी दिए ।
आर्थिक वर्ष २०७९–८० मा १ खर्ब १३ अर्ब ५८ करोडको १० लाख ४० हजार ५०६ किलोलिटर डिजल र ३८ अर्ब २४ करोडको ३ लाख ८९ हजार ७११ किलोलिटर पेट्रोल आयात भएको जनाउँदै गत आर्थिक वर्षमा १ खर्ब ९ अर्ब २९ करोडको १० लाख ८३ हजार ५२० किलोलिटर डिजल र ३९ अर्ब २ करोडको ३९४ हजार ७२३ किलोलिटर पेट्रोल आयात भएको सूचना अधिकारी कर्णले जानकारी दिए । उनका अनुसार नेपालका लागि आवश्यक ७० प्रतिशत इन्धनको आयात वीरगन्ज नाकाबाट हुने गरेको छ ।