काठमाडौं– नेपाली बजारमा लेख्ने छाप्ने कागजको मूल्य अकासिएको छ बढेको छ । तैपनि आवश्यकता अनुसार कागज आपूर्ति हुन नसकेको सरोकारवालाले बताएका छन् ।

कागजको मूल्य ३० प्रतिशतले बढिसकेको यो ४० प्रतिशतसम्म पुग्न सक्ने सम्बन्धित व्यवसायी बताउँछन् । नेपालमा शैक्षिक सत्र र नयाँ वर्षका कारण कागजको माग उच्च हुने बेला भाउ बढ्दा मुद्रण उद्योगी, प्रकाशक र उपभोक्ता समेत मर्का परेको नेपाल मुद्रण उद्योग महासंघले जनाएको छ ।

नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष पुस्कल गौतम भन्छन्, ‘महँगो मूल्य तिरेर पनि कागज नपाउने अवस्था सिर्जना भएको छ ।’

सिजनमा कागजको अभाव र मूल्यवृद्धिको असर कागज व्यवसायी, मुद्रण उद्योगी र प्रकाशकमा मात्र सीमित नभई विद्यार्थी र मजदुरसम्म पुग्ने महासंघको भनाइ छ । शैक्षिक सत्रको सुरुताका पाठ्यपुस्तक, अभ्यास पुस्तिका लगायत शैक्षिक सामग्रीको माग उच्च हुन्छ । नयाँ वर्षमा भित्तेपात्रो लगायत सामग्रीको समेत छपाइ बढी हुने भएकाले अहिलेको समयलाई कागज व्यवसायी, मुद्रण उद्योगी र प्रकाशकहरु सिजन मान्छन् ।

कोरोना महामारीका कारण एक वर्षसम्म कागजको प्रयोगमा कमी आएको, प्रयोग भएका रद्दी तथा झुरा कागज संकलन हुन नसकोको र पछिल्लो समय संकलन भए पनि भण्डारको समस्याले कच्चा पदार्थ आपूर्तिमा कमी भएकाले माग अनुरुप रिसाइकल कागज उत्पादन गर्न नसकिएको मिलहरुले बताउने गरेको व्यवसायीको भनाइ छ ।

रिसाइकल कागजको प्रयोग नगरी पल्प मात्रको प्रयोगबाट उत्पादन हुने उडफ्री, आर्ट बोर्ड तथा आर्ट पेपर लगायत गुणस्तरीय कागज नेपालमा उत्पादनै नहुने र भारतमा समेत न्यून मात्रामा उत्पादन हुने भएकाले तेस्रो मुलुकबाट आयात हुने गर्दछ ।

त्यसरी तेस्रो मुलुकबाट आयात हुने गुणस्तरीय कागजसमेत अन्तर्राष्ट्रिय बजारमा पानीजहाज र ढुवानी मूल्यवृद्धि कारण महँगिन पुगेको व्यवसायीको भनाइ छ । मूल्य अस्वाभाविक रुपमा वृद्धि भएकाले कागज आयातकर्ता व्यवसायी पर्ख र हेरको अवस्थामा रहेकाले बजारमा अभाव सिर्जना हुन पुगेको महासंघले जनाएको छ ।

बजारमा कागजको मूल्य बढेसँगै मुद्रण व्यवसायीसमेत मूल्य बढाउन बाध्य हुने अवस्था आएको महासंघको भनाइ छ । मुद्रण कार्यको मूल्य मुख्य रुपमा कागजको मूल्यमै आधारित हुने भएकाले कागजको महँगिएसँगै मुद्रण कार्यको मूल्य समेत स्वतः वृद्धि हुने महासंघका अध्यक्ष पुस्कल गौतमले बताए ।

कागज अभावको बहानामा भएको कागज लुकाई कालोबजारी गर्ने सम्भावना समेत रहने उनी बताउँछन् । महासंघले मुद्रण उद्योगी तथा व्यवसायीलाई अनावश्यक मौज्दात नराख्न तथा आयातकर्ता, डिलर र खुद्रा बिक्रेतालाई मौज्दात राखेर अभाव खडा नगर्न महासंघले आग्रह गरेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय