काठमाडौं–
‘कुनै दिन अवश्य पाउने छौ
कुनै दिन अवश्य रुनेछौ
सरोज बाँस्तोलाले रचेको यो गीत तीन दशकअघि संगीतकार ओमविक्रम विष्टको हातमा परेको थियो । उनले उक्त गीत आफ्नै आवाजमा रेकर्ड गराए । तर, सार्वजनिक भने गर्न पाएनन् ।
यत्तिकै थन्किएर बसेको ३० वर्ष पुरानो गीतलाई अर्का गायक योगेश्वर अमात्यले जीवन्त बनाउन चाहे । गीत संगीतको क्षेत्रमा १२ वर्षसम्म मौन बसेका गायक अमात्यले यही थन्किएको गीत आफ्नो आवाजमा रेकर्ड गराएका छन् ।
आफ्नै युट्युबमा गीत सार्वजनिक गरेका गायक अमात्य भन्छन्– ओम दाईले मेरै लागि थाँथी राखे जस्तो लागेको छ ।
गीतलाई गायक अमात्यले पुनः एरेन्ज गरी आफ्नो आवाजमा रेकर्ड गर्नुको साथै श्रव्यदृश्यसहित प्रस्तुत गरेका छन् । गायक अमात्यका ‘जब सन्ध्या हुन्छ,’ ‘लैजा चरी,’ ‘सिन्धुली गढी,’ ‘म मरे पनि मेरो देश,’ ‘मलाई प्यारो लाग्छ’ जस्ता कालजयी गीत लोकप्रिय छन् ।
गायक अमात्य नयाँ गीतले दर्शकलाई पुनः आफूप्रति आकर्षित गराउने विश्वास व्यक्त गर्छन् । संगीतकार विष्टले अमात्यको गीत सार्वजनिक भएपछि ३० वर्ष निर्जीव भएको गीतले जिवन्तता महसुस गरेको बताए ।
‘कुनै दिन’ गीतको श्रव्यदृश्यमा सुव्रत आचार्यको कन्सेप्ट र निर्देशन रहेको छ भने क्रिएटिभ निर्देशक जया शर्मा छिन् । श्रव्यदृश्यमा कलाकार प्रवीण खतिवडा, करुणा श्रेष्ठ र विकाश लामिछानेले अभिनय गरेका छ ।
उक्त गीतको लिंक यहाँ https://www.youtube.com/watch?v=ZTPuQNODdWQ छ ।