काठमाडौं– नेपालका लागि जेसिबी हेभी उपकरण तथा निर्माण उपकरणको आधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रालिले निर्माण क्षेत्रमा सक्रिय महिलालाई सम्मान गरेर अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ ।

एमएडब्लू जेसिबीले सोमबार कार्यक्रम आयोजना गरी निर्माण क्षेत्रमा सक्रिय महिलाको योगदानको कदर गर्दै हाइड्रो डेभलपर, कन्ट्र्याक्टर, अपरेटर र अथराइज्ड रिटेल आउटलेटका सञ्चालक गरी १३ महिलालाई सम्मान गरेको हो । एमएडब्लू ग्रुप अन्तर्गतको एमएडब्लू फाउन्डेसनकी कार्यकारी निर्देशक तुलिका अग्रवालले उनीहरुलाई सम्मान गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

सम्मान कार्यक्रममा सम्मानित महिलाले पुरुषको दबदबा रहेको निर्माण तथा हेभी उपकरण क्षेत्रमा वर्तमान अवस्थासम्म आइपुग्न सामना गरेका चुनौतीबारे अनुभव समेत सुनाएका थिए ।

‘पहिले पहिले साइटमा जाँदा आफू मात्र महिला हुन्थ्यौं । आफैंलाई खिन्न लागेर आउँथ्यो,’ हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन प्रालि, प्लानिङ एन्ड बिजनेस अनालाइसिस–भाइस प्रेसिडेन्ट अविज्ञा मल्लले भनिन्, ‘अहिले भने महिलाको सहभागिता बढिरहेको मैले पाएकी छु ।’

त्यसैगरी, नेपालकै पहिलो जेसिबी–सर्टिफाइड महिला अपरेटर मुना घिमिरे श्रेष्ठले पनि साइटमा आफूलाई महिला भएकै कारणले धेरैले जेसिबी चलाउँछिन् भन्ने विश्वास नगरेको बताइन् । ‘अहिले पनि मैले मेसिन चलाएको देखेर मानिसहरु अचम्म मानेर हेर्छन् । धेरै ठाउँमा तिमीले सक्दैनौं भनेर हेपिएको पनि छु,’ उनले सुनाइन् ।

कार्यक्रममा फाउन्डेसनकी कार्यकारी निर्देशक अग्रवालले निर्माण क्षेत्रमा महिलाको सहभागिता बढाउने उद्देश्यले अपरेटर वा मेकानिकको तालिम लिन चाहने महिलालाई फाउन्डेसनले ६७ प्रतिशत छात्रवृत्ति दिने घोषणा गरिन् ।

‘महिलाहरु कुनै पनि हिसाबले पुरुषभन्दा कम हुँदैनन् । अहिले निर्माण क्षेत्रमा महिलाको सहभागिता कम छ । उहाँहरुलाई यो क्षेत्रमा काम गर्न प्रोत्साहित गर्न हामीले एमएडब्लु स्किल एकेडेमीसँग सहकार्य गरेर तालिम लिन चाहने महिलालाई दुई तिहाइ छात्रवृत्ति दिने भएका छौं,’ उनले भनिन्, ‘अहिलेलाई यो पाइलट प्रोजेक्टको रुपमा यो सुरु भएको छ । यो सफल भयो भने पाँच वर्षको अवधिमा एक हजार महिलालाई मेसिन अपरेटर, मेकानिक वा इन्जिनियर क्षेत्रको अन्य तालिमका लागि छात्रवृत्ति दिएर दक्ष महिला जनशक्ति तयार गर्ने लक्ष्य लिएका छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय