काठमाडौं– नेपाली कमपनी आईजीसी बिजनेस होल्डिङ र जापानी कम्पनी केइरिनकन कम्पनी लिमिटेडले सूचना प्रविधि (आईटी) क्षेत्रमा संयुक्त लगानीका लागि सम्झौता गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको उपस्थितिमा बिहीवार सम्झौता सम्पन्न भएको हो ।
सम्झौतापत्रमा आईजीसी बिजनेस होल्डिङका अध्यक्ष गणेशमान लामा र केइरिनकन कम्पनी लिमिटेडका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सतोशी सातोले हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रममा दुवै पक्षले नेपाललाई डिजिटल रूपान्तरणको मार्गमा अघि बढाउन मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
आईजीसीका अध्यक्ष लामाले आजको मिति सम्झौतापत्रमा हस्ताक्षर गर्ने तिथि मात्र नभएर नेपाल र जापानबीच सहकार्य, विकास तथा साझा दृष्टिकोणको यात्राको थालनी भएको बताए । उनले सूचना प्रविधि क्षेत्रमा यो प्रतिबद्धताले नेपाललाई डिजिटल रूपान्तरण र प्राविधिक नवप्रवर्तनतर्फ लैजाने काममा सहयोग पुर्याउने बताए ।
केइरिनकनका अध्यक्ष तथा सीईओ सतोशी सातोले पनि यो संयुक्त लगानीप्रति आफ्नो उत्साह प्रकट गर्दै यो सहकार्यले व्यापारिक सम्बन्धलाई मात्रै नभई नेपाल र जापानबीचको गहिरो द्विपक्षीय सम्बन्धलाई पनि मजबुत बनाउने बताए । यो साझेदारीको माध्यमबाट नेपालमा आफ्नो व्यवसाय विस्तार गर्ने इच्छा पनि उनले व्यक्त गरे ।
सो अवसरमा मन्त्री भण्डारीले नेपाल सरकारले सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिएको बताए ।
कार्यक्रममा मन्त्री भण्डारीले भने, ‘हामी यस क्षेत्रमा लगानी भित्र्उन आवश्यक सहयोग प्रदान गर्न प्रतिबद्ध छौं र लगानीकर्ताहरूका लागि सकारात्मक वातावरण सिर्जना गर्न सरकार पनि तयार छ ।’
मन्त्री भण्डारीले वैदेशिक लगानीकर्तालाई प्रोत्साहन गर्दै सूचना प्रविधि क्षेत्रलाई प्रगति गराउन नेपाल सरकार तयार रहेको कुरामा जोड दिए । यो सम्झौताले दुई राष्ट्रबीचको प्रविधि सम्बन्धमा नयाँ युगको सुरुवातको संकेत गरेको उनको भनाइ छ ।।