पाटन (ललितपुर)– गत असोज १२ गते नख्खु खोलाको उर्लंदो बाढीमा हामफालेर दुई जनाको ज्यान बचाएका चनिकलाल तामाङ साहसी युवा भनेर हाल निकै चर्चामा छन् । चर्चामात्र होइन हाल उनलाई दैनिकजसो सम्मान गर्ने गरिएको छ ।

यसै क्रममा आज ललितपुर महानगरपालिकाले पनि तामाङलाई सम्मान गरेको छ । सम्मान कार्यक्रममा उनले श्रीमती र छोरीले नजाऊ भन्दाभन्दै खोलामा हामफालेर दुई जनालाई बचाएको बताए । खोलामा बग्दै आएको मान्छे देखेपछि आफूले हेरेर बस्न नसकेको उनले सुनाए । ‘ठूलो खोला थियो, काठ तथा अन्य सामान पनि बगाएर ल्याएको थियो, मान्छेलाई खोलाले बगाउँदै नजिकै ल्यायो, मन थाम्न सकिन, श्रीमती र छोरीले नजाऊ बगाउँछ भन्दै थिए तर उनीहरू र आफ्नो प्रवाह नगरी हामफालेर बचाएँ,’ चनिकलालले भने ।

उनले मानवताको भावनाले ज्यान बचाएको र पछिल्लो समय आफ्नो कामको यति धेरै चर्चा सुनेपछि मात्रै त्यसको महत्त्व थाहा पाएको धारणा राखे। तामाङले आफूले कल्पनामा पनि यस्तो सम्मान पाइएला भन्ने नसोचेको भन्दै महानगरप्रति आभार व्यक्त गरे । ‘मलाई कुनै सम्मानको आश थिएन तर पनि नगद रु एक लाखसहित तपाईँहरूले गर्नुभएको यो सम्मानप्रति म निकै खुसी छु,’ उनले भने । ललितपुर महानगरले चनिकलाललाई नगद १ लाख र सम्मानपत्र प्रदान गरेको थियो ।

ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले चनिकलालले गरेको यो महत्त्वपूर्ण मानवीय कार्यको जति प्रशंसा गरेर पनि अपूरो हुने भन्दै ठूलो जोखिम मोलेर दुई जनाको ज्यान बचाएकामा धन्यवाद ज्ञापन गरे । ‘बहादुरीपूर्वक जुन काम गर्नुभयो, त्यो ज्यादै प्रशंसायोग्य छ, तपाईंको बहादुरीले दुई जनाको ज्यान बच्यो, यो सम्मानभन्दा पनि ठूला हो । तपाईँले गर्नुभएको काम भविष्यमा पनि सम्झिरहने छौं,’ उनले भने ।

सम्मान कार्यक्रममा ललितपुर महानगरका प्रवक्ता राजु महर्जन, प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, सामान्य प्रशासन महाशाखा प्रमुख देवप्रसाद गुरागाईँलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय