काठमाडौं– नेपालको बिजुली बंगलादेश निर्यात गर्न नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता भएको छ । योसँगै बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्ने बाटो खुलेको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बंगलादेशको बंगलादेशको पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहमद रिजाउल करिम र भारतको नोडल एजेन्सी एनभिभिएनका प्रमुख कार्यकारी अधिकृत रेणु नाराङले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, बंगलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा थियो । समारोहमा दुवै देशका उच्च सरकारी अधिकारी पनि उपस्थित थिए ।

प्राधिकरणले भारतीय एजेन्सी एनभिभिएनलाई बिजुली उपलब्ध गराउनेछ । सो कम्पनीले भारतीय संरचना प्रयोग गरेर बिजुली बंगलादेश पठाउनेछ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय प्रसारण लाइन हुँदै विद्युत् निर्यात गर्न लागिएको हो ।

४०० केभी क्षमताको सो प्रसारण लाइनमार्फत पठाइएको बिजुलीको हिसाब मुजफ्फरपुरमा राखिनेछ । मुजफ्फरपुरदेखि भारतको प्रसारण लाइनमार्फत बिजुली बंगलादेश पुग्नेछ । प्राधिकरणले २५ मेगावाट क्षमताको त्रिशूली र २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाको बिजुली बंगलादेश निर्यात गर्ने तयारी गरेको छ । ती दुवै आयोजनाको बिजुली भारत निर्यातका लागि स्वीकृति पाइसकेकाले पनि सहज भएको बताइन्छ ।

प्राधिकरणले वर्षायामको ५ महिना (जुन १५ देखि १५ नोभेम्बरसम्म) बंगलादेशलाई बिजुली निर्यात गर्नेछ । पूर्वसमझदारी अनुसार ५ महिनामा १ लाख ४४ हजार मेगावाट घण्टा बिजुली निर्यात हुनेछ । प्राधिकरणले पाँच वर्षसम्म वर्षायामका ६ महिना ४० मेगावाट बिजुली बंगलादेशलाई बिक्री गरिने जनाएको छ । आज भएको सम्झौता मध्यकालीन हो । प्रतियुनिट आठ रुपैयाँ १७ टाका (९ रुपैयाँ ३० पैसा)मा प्राधिकरणले बिजुली बिक्री गर्नेछ ।

लामो गृहकार्य र छलफलपछि नेपालको बिजुली बंगलादेश निर्यात गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

बुधबार दुई देशका उच्च अधिकारीबीच विद्युत् खरिद बिक्री सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएको थियो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता चिरञ्जीवी चटौतका अनुसार, दुई देशका सचिवस्तरीय संयन्त्रको निर्णय अनुसार आज सम्झौतामा हस्ताक्षर भएको हो । केही दिनभित्रै प्राधिकरणले बंगलादेशमा बिजुली निर्यात सुरु गर्ने बताइएको छ ।

यो सम्झौता साउनमै हुने तयारी भए पनि बंगलादेशमा भएको राजनीतिक परिवर्तनका कारण पछाडि सरेको हो । पछिल्ला दिनमा विद्युत् व्यापार सम्झौताबारे सघन छलफल हुँदै आएको थियो । यसैबीच बुधबार दुई देशका ऊर्जा सचिस्तरीय संयुक्त निर्देशक समितिको बै७क बसेको थियो। सो बैठकमा नेपालको तर्फबाट ऊर्जासचिव सुरेश आचार्य र बंगलादेश सरकारका तर्फबाट विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका वरिष्ठ सचिव मोहम्मद हबिवुर रहमानको सहअध्यक्षता थियो ।

यस्तै, दुई देशबीच सुनकोशी तेस्रो जलविद्युत् आयोजना नेपाल, बंगलादेश र भारतबीचको सहकार्यपूर्ण सहभागिताका आधारमा विकास गर्ने र सो आयोजना विकास गर्ने सम्बन्धमा प्राधिकरण र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गर्नेसम्बन्धी संयुक्त उपक्रम सम्झौता आगामी सचिवस्तरीय संयन्त्रको बैठक अगावै टुंगो लगाउने सहमति भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर