
काठमाडौं– गत साताको बाढीपहिरोका कारण भत्किएका सडक तथा पुलको स्थायी मर्मत गर्न २० अर्बदेखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिग्रस्त सडक निरीक्षणपछि संरचनाहरुको स्थायी रुपमा सुधार गर्न सो बराबरको बजेट आवश्यक भएको जनाएको छ ।
मन्त्री देवेन्द्र दाहालले बाढीपहिरोमा परी अलपत्र परेका यात्रु र यातायात मजदुरलाई यथाशीघ्र उद्धार एवं राहत उपलब्ध गराउन गृह मन्त्रालयलाई अनुरोधसहित पत्राचार भएको समेत बताए ।
मन्त्रालयका अनुसार क्षतिको विस्तृत विवरण संकलन जारी छ । प्रारम्भिक अनुमानअनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्र ३ अर्ब रुपैयाँ लाग्ने देखिएको छ ।
मन्त्रालयका सचिव केशवकुमार शर्माले गत हप्ताको भीषण वर्षाबाट ३४ वटा राजमार्गका ८०५ स्थानमा पहिरो गई सडक अवरुद्ध भएकोमा ७७४ स्थानको पहिरो हटाउने काम सकिएको बताए ।
‘२९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्र उपकरण र जनशक्ति प्रयोग गरी यातायत सञ्चालन गरिसकिएको छ । अझैसम्म पाँच वटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध भएको यातायात सञ्चालन गर्न अनवरत प्रयास जारी छ,’ उनले भने, ‘यसका लागि कतिपय स्थानमा पहिरो हटाउनुका अतिरिक्त कटिङ फिलिङ टेवा पर्खालका साथै ह्युम पाइप र अस्थायी प्रकृतिको बेलिब्रिज समेत राखी यातायात सञ्चालन गर्नुपर्ने अवस्था छ ।’
असोज ११ र १२ गते आएको अबिरल वर्षाका कारण देशको विभिन्न भागका नदीहरुमा भीषण बाढी आउनुका साथै विभिन्न स्थानमा पहिरो जाँदा जनधनको ठूलो क्षति भएको थियो ।
हाल अरनिको राजमार्गमा लार्चा–कोदारीको पाँच किलोमिटरमा मर्मत सकिएको छैन भने लिपिङ पुल र लार्चाको बेलिब्रिज बगाएका कारण यातायात अवरुद्ध भएको छ ।
बिपी राजमार्ग चौकीडाँडा–कालढुंगा १८ किलोमिटर मध्ये करिब १२ किलोमिटर सडक पूर्णरुपमा बगेका कारण केही स्थानमा सवारी साधन रोकिएको अवस्था छ ।
‘रोशी खोलाको पानीको बहावलाई मध्यनजर गरी सम्भव भएसम्मका सबै विकल्प प्रयोग गरी अस्थायी रुपमा यातायात सञ्चालन गरिनेछ,’ सचिव शर्माले भने, ‘पुष्पलाल (मध्यपहाडी) राजमार्ग दोलालघाट–राकाथुम ८० किलोमिटर खण्डका धेरै ठाउँमा पहिरो पन्छाउने काम भइरहेको छ ।’
शर्माका अनुसार कान्ति राजपथको घपेली–बगुवामा १३ किलोमिटर र बागमती पुलको दाँया–बाँया एप्रोच मकवानपुर तथा ललितपुर दुवैतर्फबाट पहिरो सफा गर्ने काम भइरहेको छ ।
मेची राजमार्ग रमिते–फिदिमको आठ किलोमिटर, हेवा पुलसहित रमिते डाँडाको पहिरो हटाउने काम भइरहेको छ । मन्त्रालयका अनुसार हेवा खोलामा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालनको तयारी भइरहेको छ । यी खण्डमा असोज १२ गतेदेखि नै सडक विभागमार्फत प्राविधिक, जनशक्ति र उपकरण परिचालन गरी खुलाउने प्रयास भइरहेको छ ।