
काठमाडौं– जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा पूर्वी र मध्यभागमा बंगलादेशको उत्तरी भूभाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।
विभागका अनुसार हाल लुम्बिनी र गण्डकीसहित देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा छ । लुम्बिनीका केही र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
आज राति मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । साथै कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
विभागले आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरेको छ ।
मौसमविद् सरोज पुडासैनीका अनुसार मनसुन क्रमशः कमजोर हुँदै गएको छ ।