काठमाडौं– चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी वर्ल्ड इकोनोमिक फोरम अन्तर्गतको योङ ग्लोबल लिडर्स फोरम क्लास, २०२१ का लागि छनोट भएका छन् । चौधरी यो फोरममा नवप्रवेशी हुन् ।

चौधरी ग्रुपअन्तर्गत टेलिकम्युनिकेसन, बैंकिङ, रियल–इस्टेट, खाद्यवस्तु उत्पादनलगायत क्षेत्रमा निर्वाण सक्रिय छन् । आफ्नै पौरख र क्षमताले विश्वमा सकारात्मक प्रभाव छाड्न सफल युवालाई फोरमले नेतृत्व विकास कार्यक्रमका लागि विश्वभरबाट गोलबन्द गर्दै आएको छ । फोरमले दिगो आर्थिक र सामाजिक विकासका लागि नेतृत्वको चेतना र क्षमता अभिवृद्धिमा लगानी गर्छ ।

सन् २००४ मा वल्र्ड इकोनोमिक फोरमका संस्थापक तथा कार्यकारी अध्यक्ष क्लाउस स्क्वाबले फोरम स्थापना गरेका थिए । यसले अन्तरसम्बन्धित विश्वव्यापी मुद्दा र चुनौती सामना गर्न तथा निकासको बाटो पहिल्याउन सघाउँदै आएको छ ।

फोरममा १२० भन्दा बढी मुलुकका १४ सय सदस्य/पूर्वसदस्य छन् । यीमध्ये कतिपय सदस्य सरकार प्रमुख, ‘फर्च्युन ५०० कम्पनी’का कार्यकारी, नोबेल र ओस्कार विजेता, राष्ट्रसंघका सद्भावना दूतलगायत छन् । हरेक वर्ष विश्वभरबाट चुनिएका हजारौं उम्मेदवारमध्ये छनोट समितिले क्षमता र समावेशिताका आधारमा एक सयदेखि एक सय ५० नयाँ सदस्य छनोट गर्छ ।

यो वर्ष १० हजार उम्मेदवारबाट ५६ मुलुकका १ सय १२ नयाँ सदस्य छानिएका छन् । त्यसैमा चौधरी छनोट भएका हुन् । चौधरीले विश्वस्तरीय मञ्चमा सहभागी हुन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । चौधरी ग्रुप फोर्ब्सको डलर अर्बपति सूचीमा परेको नेपालको एक मात्र व्यावसायिक घराना हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय