
कमलामाई (सिन्धुली)– देश विनाशकारी बाढीपहिरोको चपेटामा परेको एक हप्तापछि विपत् पर्यटन सुरु भएको छ । सरकार सम्भावित विपत्तिको पूर्वतयारीमा असफल भए पनि जनधनको ठूलो क्षति भएको एकहप्ता पछि भीभीआईपीको एउटा टोलीले मंगलबार हेलिकप्टर चढेर बाढीप्रभावित क्षेत्रको अवलोकन गरेको छ ।
गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईसहितको टोलीले मंगलबार विहान सिन्धुलीको खुर्कोट पुगेको हो । उनीहरुले सुनकोशी नदीमा आएको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार क्षेत्रको अवलोकन गरेका छन् ।
रामेछापतर्फको ५१ मिटर बगेको पुलमा यातायात सञ्चालनका लागि नेपाली सेनाले बेलिब्रिज जडान गर्न प्रारम्भिक काम थालेको छ । भीभीआईपी टोलीले सो कामको निरीक्षण गरेको सरकारी समाचार संस्था राससले प्रेषित गरेको समाचारमा उल्लेख छ ।
उक्त टोलीले बाढीपहिरोबाट जिल्लामा भएको क्षति तथा तत्काल भइरहेको सडक पूर्वाधारको पुनःनिर्माण, उद्धार र राहतका सम्बन्धमा स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेलगायत स्थानीयवासीसँग छलफल गरेका छन् । उक्त टोलीले सिन्धुपोल्चोकको चौतारा क्षेत्रको पनि अवलोकन गरेको छ ।
उद्धार गर्नुपर्ने समयमा चुपचाप बसेका मन्त्रीहरु एक हप्तापछि अवलोकनका नाममा हेलिकप्टर चढेर घुम्न निस्केका हुन् ।