
काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक, वित्तीय संस्थाको थोरै सेयर हुने संस्थापकलाई सो संस्थाबाट कर्जा प्रवाहमा केही खुकुलो प्रावधान ल्याएको छ । तर धेरै सेयर हुने साधारण सेयरधनीको हकमा कडा प्रावधान ल्याएको छ ।
मंगलवार केन्द्रीय बैंकले बैंक, वित्तीय संस्थालाई निर्देशन जारी गर्दै उनीहरूले चुक्ता पुँजीको ०.५ प्रतिशतभन्दा बढी सेयर भएका संस्थापक सेयरधनी, सञ्चालक, कार्यकारी प्रमुख र तिनका परिवारका सदस्यको स्वामित्वमा रहेको सम्पत्ति धितो राखेर कर्जा प्रवाह गर्न नपाउने व्यवस्था गरेको छ ।
यसअघि बैंक, वित्तीय संस्थाको जति सेयर भए पनि संस्थापक समूहका सेयरधनी, सञ्चालक, कार्यकारी प्रमुख र निजको परिवारका सदस्यको स्वामित्वमा रहेको सम्पत्ति धितोमा राखेर उक्त संस्थाले कर्जा प्रवाह गर्न नपाउने व्यवस्था थियो ।
नयाँ व्यवस्थाअनुसार १ प्रतिशत वा त्यसभन्दा बढी सेयर भएका अन्य सेयरधनी र निजको परिवारका सदस्यको स्वामित्वमा रहेको सम्पत्ति धितोमा सोही संस्थाबाट कर्जा प्रवाह गर्न पाइने छैन ।
यो प्रावधान कार्यान्वयन भए, नभएको अनुगमन गर्न राष्ट्र बैंकले चुक्ता पुँजीको ०.५ प्रतिशतभन्दा बढी सेयर धारण गरेका व्यक्तिको विवरण अर्धवार्षिक रूपमा सम्बन्धित सुपरिवेक्षण विभागमा पेस गर्नसमेत बैंकहरूलाई निर्देशन दिएको छ ।
राष्ट्र बैंकले सुनचाँदी धितो प्रवाह हुने कर्जामा पनि सीमा तोकेको छ । अब बैंकहरूले सुनचाँदी धितोमा एक जना ग्राहकलाई ५० लाख रुपैयाँसम्म मात्र कर्जा दिन पाउनेछन् । यसअघि प्रवाह भइसकेको ५० लाख रुपैयाँभन्दा बढी कर्जाको हकमा २०८३ असारसम्म एकल ग्राहक कर्जा सीमा कायम गरिसक्नुपर्ने भएको छ ।