
काठमाडौं– संघीय राजधानी रहेको काठमाडौं उपत्यकाबाट बडादसैं मनाउन दैनिक एक लाख हाराहारी मानिस बाहिरिन थालेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन र यात्रीको चाप बढेको छ ।

काठमाडौंंको गोंगबु बसपार्कमा बडादसैंका लागि घर जाने यात्रुको घुइँचो । तस्बिर : हरिराम भेटुवाल/रासस
विगत तीन दिनदेखि दैनिक एक लाखको हाराहारीमा यात्री उपत्यकाबाट बाहिरिएका बताउँदै उनले थपे, ‘आइतबार र मंगलबारको तुलनामा सोमबार र आज यात्रा गर्नेको संख्या बढेको छ ।’ दैनिक सरदर ३० हजार मानिस राजधानी प्रवेश गरिरहेका छन् ।
नायब उपरीक्षक कार्कीले बसपार्क, कलंकी, बल्खु, कोटेश्वर र सीतापाइलामा सवारी र यात्रीको बढे पनि गत वर्षको दसैंमा जस्तो नाका पार गर्न घण्टौं प्रतीक्षा गर्नु नपर्ने जानकारी दिए ।
हाल अरनिको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र दक्षिणकाली–हेटौंडा र कान्ति राजमार्ग भएर यात्रीहरू आफ्ना गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन् ।

काठमाडौंंको गोंगबु बसपार्कको टिकट काउन्टरमा बडादसैंका लागि घर जाने यात्रुको घुइँचो । तस्बिर : हरिराम भेटुवाल/रासस