काठमाडौं– भारतका विख्यात उद्यमी रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको उनले दुई दशकभन्दा बढी समय नेतृत्व गरेको टाटा ग्रुपले जानकारी दिएको छ ।
टाटा अन्तर्राष्ट्रिय जगतमा ख्याति कमाएका भारतीय उद्यमीमध्येका एक थिए ।

टाटा ग्रुप भारतका ठूला कम्पनीमध्येको एक हो । यसको वार्षिक आम्दानी सय अर्ब अमेरिकी डलरभन्दा माथि पुग्छ । टाटाको निधन भएको घोषणा गर्दै टाटा सन्सका वर्तमान चेयरम्यान नटराजन चन्द्रसेकरनले रतनलाई ‘साँच्चिकै असाधारण नेता’ भनेका छन् ।

‘सम्पूर्ण टाटा परिवारको तर्फबाट म उहाँका प्रियजनलाई गहिरो समवेदना प्रकट गर्दछु ।’ बुधवार राति मुम्बईको ब्रीच कैंडी अस्पतालमा उनको निधन भएको हो ।

रतनले चेयरम्यानको रुपमा नेतृत्व गरेका बखत टाटा ग्रुपले ठूलठूला कम्पनीहरु प्राप्त गरेको थियो । जसमा एंग्लो डच स्टिल उत्पादक कोरस, बेलायतको कार ब्रान्ड जागुअर र ल्यान्ड रोवर तथा विश्वकै दोस्रो ठूलो चिया कम्पनी टेट्ले लगायत छन् ।

बेलायतका वाणिज्य मन्त्री जोनाथन रेनोल्डसले स्वर्गीय टाटाप्रति सम्मान अर्पण गर्दै उनलाई बेलायती उद्योगलाई आकार दिनमा ठूलो भूमिका खेलेका व्यावसायिक जगतका टाइटन (असाधारण व्यक्ति) भनेका छन् ।

इकोनोमिस्ट म्यागजिनमा सन् २०११ म प्रकाशित एक प्रोफाइलमा एउटा सामान्य पारिवारिक व्यापारिक घरानालाई विश्वकै पावरहाउसमा रुपान्तरण गरेको श्रेय दिँदै टाटालाई ‘टाइटन’ भनिएको छ ।

‘उनकै परिवारको नाम रहेको कम्पनीको १ प्रतिशतभन्दा कम हिस्सा मात्रै उनको स्वामित्वमा छ । तर उनी असाधारण व्यक्ति हुन् र पनि भारतका सबैभन्दा शक्तिशाली एवं विश्वका एकजना प्रभावशाली व्यवसायी’ इकोनोमिस्टमा भनिएको छ ।

सन् २०१२ मा टाटा समूहको चेयरम्यानबाट अवकाश लिएका रतन त्यसपछि टाटा समूहको होल्डिङ कम्पनी टाटा सन्सको चेयरम्यान इमिरेटस बनेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टाटालाई उनलाई स्वप्नदर्शी व्यावसायिक नेता, दयाका खानी र असाधारण मान्छे भनेका छन् ।

एक्स (यसअघिको ट्विर)मा टाटाप्रति सम्मान प्रकट गर्ने क्रममा मोदीले उनीसँगका असंख्य अन्तरक्रियाको सम्झना गर्दै उनको निधनबाट आफूलाई असह्य पीडा भएको बताएका छन् ।

टाटा परम्परागत पार्सी परिवारमा सन् १९३७ मा जन्मेका थिए । उनले अमेरिकाको कोर्नेल युनिभर्सिटीमा आर्किटेक्ट र स्ट्रक्चरल इन्जिनियरिङ पढेका थिए ।

सन् १९६२ मा टाटा ग्रुपको संस्थापक कम्पनी टाटा इन्डस्ट्रिजमा सहायकको रुपमा प्रवेश गरेका रतनले ६ महिना जमशेदपुर प्लान्टमा प्रशिक्षण लिएका थिए ।

त्यसपछि उनले टाटा आइरन स्टिल कम्पनी (हालको टाटा स्टिल), टाटा कन्सल्टेन्सी सर्भिस र नेसनल रेडियो एन्ड इलेक्ट्रोनिक्समा काम गरे ।

आधा शताब्दीभन्दा बढी समय टाटा समूहको नेतृत्व गरेका जेआरडी टाटाले सन् १९९१ मा रतनलाई आफ्ना उत्तराधिकारी घोषणा गरेका थिए । ‘उहाँ (जेआरडी टाटा) मेरो सबैभन्दा ठूलो संरक्षक हुनुहुन्छ । उहाँ मेरा लागि बाबु र दाजु जस्तै हुनुहुन्छ,’ रतनले एउटा अन्तरवार्तामा भनेका थिए ।

भारत सरकारले सन् २००८ मा रतनलाई पद्म विभूषण प्रदान गरेको थियो । पद्म विभूषण भारतमा सर्वसाधारणलाई दिइने दोस्रो ठूलो सम्मान हो ।

स्टोरी अफ टाटा नामक पुस्तकका लेखक पेटर कासेले टाटालाई विनम्र, संयमी र लजालु मान्छेको संज्ञा दिएका छन् । सन् २०१६ मा उत्तराधिकारी साइरस मिस्त्री बर्खास्तगीमा परेपछि रतन विवादमा पनि तानिएका थिए, जसले व्यवस्थापनमा तिक्ततापूर्ण विवाद निम्त्याएको थियो । मिस्त्रीो सन् २०२२ मा कार दुर्घटनामा निधन भइसकेको छ ।

रतन सरलताका लागि प्रख्यात छन् । सन् २०२२ मा उनी एकपटक नानो कारमा यात्रा गरिरहेको भिडियो सार्वजनिक भएको थियो । संसारकै सस्तो कार नानो टाटाको असफल सपना थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय