
काठमाडौं– भारत सरकारले १० वटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जाको पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
नेपाल सरकारको अनुरोधमा प्राप्त यी पुलले हालै आएको बाढीपहिरोका कारण टुटेको सडक सम्पर्क पुनःस्थापना गर्न सहयोग पुग्नेछ ।
३८ करोड रुपैयाँभन्दा बढी मूल्यका यी पुल भारत सरकारले अनुदानमा उपलब्ध गराएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ । यी सामान वीरगन्जमा रहेको भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई बुधबार साँझ हस्तान्तरण गरेका हुन्।
प्रिफ्याब्रिकेटेड स्टिल ब्रिजका बाँकी खेप आगामी दिनमा नेपाल सरकारलाई उपलब्ध गराइने बताइएको छ ।
बाढीपहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न यसअघि पछिल्लो दुई दिनमा भारतले अत्यावश्यक सरसफाई सामग्री, औषधि, लाइफ ज्याकेट, स्लिपिङ म्याट तथा ब्याग, खाद्यवस्तु, इन्फ्लेटेबल रबर बोट, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतलसहितको २५ टनभन्दा बढीको राहत सामग्री उपलब्ध गराएको अवसरमा जानकारी दिइयो ।