
काठमाडौं– बडादसैंको दुुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार २४२ जनाले हवाई यात्रा गरेका छन् । असोज २४ गते फूलपाती र २६ गते (महाअष्टमी/महानवमी)मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी ६३ हजारभन्दा बढीले हवाई यात्रा गरेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार असोज २४ गते आन्तरिकतर्फ दुईतर्फी गरेर तीनसय एक उडानमार्फत १७ हजार तीनसय २९ र असोज २५ गते दुई सय ७८ उडानबाट १४ हजार ४३६ गरी कुल ३१ हजार ७६५ ले आन्तरिक उडानमा हवाई यात्र गरेका छन् ।
यस्तै अन्तर्राष्ट्रियतर्फ असोज २४ गते दुईतर्फी एकसय सात उडानमार्फत १६ हजार ५०९ र असोज २५ गते पनि १०७ उडान हुँदा १४ हजार ९६८ गरी कुल ३१ हजार ४७७ ले हवाईयात्रा गरेको विमानस्थल कार्यालयले जनाएको छ । यो उडान र यात्रु सङ्ख्या आगमन र प्रस्थान दुवैको हो ।
यसअघि यही असोज १४ गते एकै दिन आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी ५५९ उडान भएका थिए । ती उडानमार्फत सोही दिन ३५ हजार ७०४ जनाले हवाईयात्रा गरेका छन् । यही असोज ११ र १२ गतेको अबिरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी पहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा हवाई उडानमा चाप भएको थियो ।
अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान चाप बढेपछि विमानस्थलको टर्मिनल भवना यात्रुको खचाखच भीडभाड थियो । अहिले हवाई उडान सामान्य बन्दै गएको विमानस्थल कार्यालयले जनाएको छ । यही असोज १३, १४, १५ र १६ गते हवाई उडान चाप बढेको थियो ।