काठमाडौं– अनलाइन सप द पन्छी कलेक्सनले पञ्चधातु र सुनका जस्तै देखिने गहनाको कारोबारमा लोकप्रियता कमाउँदै गएको जनाएको छ । उक्त अनलाइन सपले सुन जस्तै देखिने वारेन्टी भएका र पञ्चधातुको गहना ग्राहकको घरघरमा पुर्याउँदै आएको छ । सुलभ मूल्यमा वारेन्टीका गहना घरघर डेलिभरी गर्दै आएको उक्त कम्पनीले काठमाडौंलाई कार्यक्षेत्र बनाएर काम गरिरहेको छ । काम सुरु गरेको छोटो समयमा धेरै ग्राहक पाएको दाबी गर्ने उक्त अनलाइन सपले ग्राहकको आवश्यकताअनुसार सेवा दिइरहेको जनाएको छ ।
कलेक्सनकी सञ्चालक सृजना प्याकुरेल आफ्नी छोरीको नामबाट खोलेको सुसृना अनलाइन स्टोरमा बच्चाका लुगाको तस्बिर राखेर फेसबुकमा बुस्ट गर्दा भएको सोधखोज र सामान खरिदमा सर्वसाधारणले देखाएको चासोले यस क्षेत्रमा केही गर्न सकिन्छ भन्ने आशा जागेपछि सुनजस्तै देखिने नक्कली तथा पञ्चधातुका गहनाको कारोबार सुरु गरेको बताउँछिन् ।
प्याकुरेलको अनुभव रोचक छ । उनी भन्छिन्, ‘जता हेर्यो झोला बोकेर सामान डेलिभरी गर्न मान्छे हिँडेको देखिन्छ । यही बेला आफूले पनि केही सामानको अनलाइन सेल गरौं भन्दा के चाँहि बच्ने र त्यो सामान कहाँ गएर खरिद ल्याउने भन्ने चिन्ता थपियो । सामान किनेर घरमा ल्याएर स्टोर गर्दै बेच्ने सम्भावना थिएन ।’
यसैबीच ६–७ महिनाअघि द पन्छी कलेक्सन नामको फेसबुक पेज खोलेर गहनाको फोटो राखी बुस्ट गर्दा मूल्य सोध्नेको ओइरो लागेको उनले सुनाइन् । ‘तर, काठमाडौंबाहिर सामान पठाउन कुनै योजना थिएन,’ उनी भन्छिन्, ‘त्यस बेला काठमाडौंभित्रकै अर्डर मात्र डेलीभरी गर्ने सोच बनाएकोले एक जनाको मात्र अर्डर डेलिभरी गरियो । त्यसले मनबोल बढाएपछि यही कामलाई निरन्तरता दिने निर्णयमा पुगें ।’
त्यसपछि हरेक साता नयाँ नयाँ कलेक्सन ग्राहकमाझ प्रस्तुत गर्न थालेको र कारोबारको गति बढ्दै गएको उनको भनाइ छ । गहना खरिद गर्ने सबै ग्राहकले पन्छी कलेक्सनको गहनाको मूल्य रेन्ज ठिक रहेको र गुणस्तर राम्रो भएको प्रतिक्रिया दिएको प्याकुरेलको दाबी छ । ‘यसबीचमा हाम्रो कम्पनीले ७७ वटै जिल्लाका ग्राहकलाई आफ्नो गहना उपलब्ध गराइसकेको छ,’ उनले भनिन्, ‘हजारभन्दा बढी ग्राहकसामु गहना पुर्याइसकेका छौं ।’ उक्त अनलाइन सपले तीजताका सारी र कुर्ता पनि बेचेको उनले जानकारी दिइन् ।
अनलाइन गहना बिक्री गर्न सुरु गरेको छोटो समयमै ग्राहकको रोजाइमा पर्न सफल भएकोमा खुसी व्यक्त गर्दै कलेक्सनकी सञ्चालक भन्छिन्, ‘दिनभर अनलाइन बसेर गर्नुपर्ने कामसँगै साइड बिजनेसका रुपमा यस अनलाइन सेल्सको कामले धेरै राम्रो भएको छ ।’ यसमा लगानी आफ्नो बजेटअनुसार गरे हुने र समय मिलाएर काम गर्न पाइने हुँदा सजिलो भएको बताउँछिन् ।
अहिले अनलाइनको नाममा ठगी बढ्दै गएकोमा उनी दुःख व्यक्त गर्छिन् । ‘खराब मानिसहरुले गर्दा सही काम गर्नेलाई पनि ग्राहकले शंकाको दृष्टिले हेर्छन् । एउटा भनेर काम नलाग्ने अर्को गहना पठाउने हो कि भन्ने चिन्ता ग्राहकमा हुन्छ,’ उनले भनिन्, ‘कतिले त त्यसै भनेर मन परेको गहना पनि अर्डर गर्दैनन् ।’