डडेल्धुरा– डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ । महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७, खस्रेखानमा दुर्घटना भएको हो ।
दुर्घटनामा दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले बताए। दुर्घटनामा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमती बोहरा, सोही ठाउँकी २० वर्षीया कमला बोहरा, निजका छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको हो ।
प्रहरी निरीक्षक बमका अनुसार बसचालक वीरेन्द्र बोहरा गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि धनगढी पठाइएको छ । अन्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।