
काठमाडौं– नेकपा (एमाले)ले भाटभटेनी सुपर मार्केट सञ्चालक मीनबहादुर गुरुङले पार्टी केन्द्रीय कार्यालय बनाउन जग्गा दिएको विषयमा भ्रम नफैलाउन चेतावनी दिएको छ ।
विवादास्पद व्यवसायीसँग जग्गा लिने पार्टी नेतृत्वको निर्णयप्रति कार्यकर्ता पंक्तिमा व्यापक असन्तुष्टि रहेका बेला प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले मंगलबार एक विज्ञप्ति जारी गरी पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणको विषयलाई लिएर भ्रम फैलाइएको दाबी गरेका छन् ।
उनले विज्ञप्तिमा गुरुङसँग उक्त जग्गाका विषयमा लेनदेन नभएको दाबी गरेका छन्। ‘पार्टी कार्यालय भवन निर्माणको विषयलाई लिएर पार्टीभित्र र बाहिर अनेक खालका भ्रम र अफवाह फैलाउने, गलत सूचना प्रवाह गरी मिडियालाई दुरुपयोग गरी पार्टी तथा पार्टी नेतृत्वविरुद्ध बिषवमन गर्ने काम भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तथ्य के हो, एकजना दानवीर मीनबहादुर गुरुङ र सावित्री गुरुङले बाढी, लेदोले क्षतविक्षत भएको नेकपा (एमाले)को केन्द्रीय कार्यालयको दुरावस्थादेखि नयाँ कार्यालय भवन निर्माणका लागि १० रोपनी १४ आना जग्गा प्रदान गर्नुभएको हो । यसमा कुनै किसिमको लेनादेना छैन, स्वेच्छाले जग्गा दान गर्नुभयो । एमालेले ग्रहण गर्यो । तथ्य नबुझी बदनाम नगरौं ।’
पार्टी केन्द्रीय सचिवालयको निर्णयका आधारमा जग्गा लिने र त्यहाँ भवन निर्माण गर्न शिलान्यास गरिएको पनि उनले बताएका छन् । एमाले स्थायी समिति सदस्य डा. बिन्दा पाण्डेले भने जग्गा लेनदेनका विषयमा आफूहरुलाई समेत जानकारी नभएको प्रतिक्रिया दिएकी छिन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले दशैंको टीकाको अघिल्लो दिन गत २५ असोजमा भाटभटेनी सञ्चालक गुरुङले कीर्तिपुरमा उपलब्ध गराएको १० रोपनी १४ आना जग्गामा कार्यालय भवन शिलान्यास गरेका थिए । शिलान्यास कार्यक्रममा गुरुङ दम्पती पनि सहभागी थिए । गुरुङले उक्त जग्गामा भवन पनि बनाइदिने वाचा गरेका छन् ।
गुरुङलाई भ्याट छली प्रकरणमा अदालतले १ अर्ब जरिवानाको फैसला गरेको छ । बालुवाटारको सरकारी जग्गा भूमाफियासँग मिलेर व्यक्तिका नाममा ल्याइएको प्रकरणमा मुद्दा विचारधाराधीन छ ।