
चितवन- भरतपुर महानगरपालिका–१२ का अध्यक्ष लेखराज पन्तले आफ्नो वडाका विपन्नलाई दसैंमा मासुचिउरा बाँडेका छन । उनले भरतपुर–१२ का २५५ परिवारलाई २ किलो मासु र २ किलो चिउरा वितरण गरेका हुन् । उनले सामाजिक सञ्जालमा आह्वान गरेर मासु किनेर खान नसक्ने विपन्नलाई आफूसँग सम्पर्क गर्न भनेका थिए । उनी भन्छन् वडाभरिका सबैलाई मैले आह्वान गरेर विपन्नलाई आफ्नै निजी खर्च गरेर मासु चिउरा बाडें ।
वडाध्यक्ष पन्तले वडा कार्यालयमा दानपेटिका राखेर सक्नेलाई सहयोग गर्न आह्वान समेत गर्दै आएका छन्। त्यहाँ संकलित रकमले पनि उनले विपन्नका लागि सहयोग गर्छन् ।
गत तीजमा उनले विभिन्न आमा समूह र टोल सुधार समितिमार्फत तीजको दर खुवाउने र समूहलाई पोसाकको साडी वितरण गरेका थिए। तीजमा ३ लाख खर्च भएको उनले बताए । तीज मनाउन खर्च माग्ने कोही खाली हात फर्किनु नपरेको पनि उनले जानकारी दिए । ‘वडाभित्रका टोल र आमा समूहलाई ६ सयभन्दा बढी पोसाकका साडी वितरण गरिसकेको छु,’ उनले भने ।
तिहारमा उनको घरमा भैलो खेल्ने पालो पाउन मुस्किल हुने जनाइएको छ । ५० समूहभन्दा बढी भैलो खेल्न आउने गरेको उनको भनाइ छ । पन्त भन्छन्, ‘गत वर्षको तिहारमा रु पाँच लाख बढी दान गरेको थिएँ ।’
गत भदौ १५ गते उनले आफ्नो जन्मदिनमा १८ लाख ६० हजार रुपैयाँ बराबरको दान गरेका थिए । आफ्नै वडाको एक मन्दिरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीसहितको उपस्थितिमा उनले विभिन्न संघसंस्था र विद्यालयका विद्यार्थीलाई नगद एवं लत्ताकपडा वितरण गरेका थिए। ‘जन्मदिन, तीज, दसैं, तिहारमा मात्रै होइन, बाह्रै महिना सहयोग माग्न आउनेहरुलाई रित्तो हात फर्काउँदिन,’ उनले भने ।
जिल्लाका संघसंस्थाहरु धेरैले एकपटक उहाँसँग सहयोग पाइसकेका छन् । विभिन्न क्लबहरुले आयोजना गर्ने खेलकुदमा उनको सहयोग हुने गर्दछ । जनप्रतिनिधि भएपछि यकिन हिसाब नभए पनि १ करोड रुपैयाँभन्दा बढी निजी रकम दान गरिसकेको उनले जानकारी दिए । उनले स्थानीय हिमालय स्कुलमा २२ लाख, रोटरी करुणालय देवघाटमा १५ लाख, गणेशधाम संरक्षणमा १५ लाख सहयोग गरेका छन्। यसका अतिरिक्त क्रिकेट रंगशाला, मठमन्दिरहरुमा पनि सहयोग गर्दै आएका छन् ।
वडाध्यक्षको तलबभत्ता सबै दानमा खर्च गर्छन् उनी । वर्षमा ५ लाख हाराहारी आउने र त्यो सबै चेकमार्फत सोझै सहयोग गर्ने गरेको उनको भनाइ छ । वडा कार्यालयमा राखिएको दानपेटिकामा वार्षिक उठ्ने ४ लाख हाराहारी विपन्न बिरामी, दाहासंस्कारका लागि आवश्यक दाउरा, किरिया खर्च, बाटो खर्चलगायत सहयोग गर्ने गरेको वडाध्यक्ष पन्तले जानकारी दिए ।
बाग्लुङ नगरपालिका–७ मा जन्मिनुभएका पन्त २०४८ बाट चितवनमा बसोबास गर्दै आएका छन् ।.उनी भन्छन्, ‘दुःखी, असहाय र सामाजिक क्षेत्रमा सहयोग गर्न पाउँदा मलाई निकै आनन्द आउँछ ।’