काठमाडौं– दसैंको पूर्वसन्ध्यामा सात वर्षीय छोरा माइत छाडेर झापाकी रुपा गिरी मलेसिया उडिन् । मलेसिया जान लागेकी गिरीले भावुक हुँदै भनिन्, ‘घर चलाउन घरै छाड्नुपर्यो ।’ घरको आर्थिक स्थिति सुधार्न बिदेसिन लागेको उनको भनाइ थियो ।

कक्षा ११ को पढाइ बीचैमा छाडेर गिरीले बिहे गरेको केही वर्षमा छोरा जन्मियो । कलाकारिता पेसामा आबद्ध श्रीमानको कमाइले परिवार चलाउन सम्भव भएन । छोरो स्कुल पठाउन थालेपछि पठनपाठन शुल्क तिर्न र पालनपोषण गर्नसमेत हम्मेहम्मे भयो । उनले ऋण गरेर स्वदेशमै व्यापार गर्नेबारे पनि नसोचेकी होइन तर लगानी गर्ने आँट नभएपछि बिदेसिन बाध्य भएको सुनाइन् । ‘सन्तान छाडेर बिदेसिने कुन आमालाई खुसी मिल्छ होला र !’ उनी भन्छिन्, ‘मुटुमा ढुंगा राखेर जान लागेकी छु । राम्रै कम्पनी परे त ठिकै हो । नभए के गर्ने थाहा छैन ।’ गिरीसँगै कामदारका रुपमा विदेश जान आठ महिला तयार थिए । ती सबै आमा थिए ।

त्यही लहरमा भेटिएकी झापाकै ३४ वर्षीया सरस्वती तामाङको अनुहार मलिन देखिन्थ्यो । आफ्नै नाम भन्न लजाउने तामाङले समुद्रपारिको मुलुकमा कसरी काम गर्नुहुन्छ भन्ने प्रश्नको जवाफ छोटोमा दिइन्– ‘जे त होला ।’ तामाङले ५ कक्षासम्म मात्रै पढ्ेकी छिन् । सानैमा बिहे भयो । १० वर्षकी छोरी छोडेर बिदेसिनु रहर नभएको उनको भनाइ छ । ‘यो मेरो बाध्यता हो,’ उनले भनिन्, ‘छोरी हुर्किंदै छे, उसलाई मेरो जरुरी पर्छ तर गरिबीले बिदेसिने बनायो ।’ तामाङका श्रीमान् सवारी चालक छन् । सुकुमबासी बस्तीमा बस्ने उनीहरुको जग्गा जमिन छैन । घर चलाउन श्रीमानलाई विदेश पठाउने तयारी गरे पनि स्वास्थ्य परीक्षण गर्दा छातिमा दाग देखिएपछि आफैं बिदेसिने निधो गरेको उनले सुनाइन् र ‘नेपालको कमाइले पुग्दैन । महँगी छ । त्यसैले बिदेसिनुको विकल्प देखिँन,’ उनले भनिन् ।

स्याङ्जाकी धनु घले दुई छोराछोरीकी आमा हुन् । श्रीमान्ले काम नगर्ने, जाँडरक्सी खाएर कुटपिट गर्ने गरेपछि उनले ‘फुटपाथ’मा साग बेचेर जीविकोपार्जन गर्दै आएकी थिइन् । छोराछोरी पढाउन र हुर्काउन गाह्रो भयो । श्रीमानलाई फकाएर मलेसिया पठाइन् । विदेश गएका श्रीमानले खर्च पठाउने आशामा पाँच वर्ष बित्यो तर उनले न पैसा पठाए न फोन सम्पर्क नै गरे । हातमुख जोर्न मुस्किल भएपछि ४२ वर्षीया घलेले छोराछोरीलाई छात्रावासमा राखेर दुबई जान लागेको बताइन् । ‘विदेश गएको श्रीमानले एक सुको पठाएन, वास्तै गरेन,’ उनी भन्छिन्, ‘छोराछोरी पाल्ने कोही नभएपछि उनीहरुकै भविष्यका लागि बिदसिन लागेकी हुँ ।’

वैदेशिक रोजगार विभागको सन् २०२२ को तथ्यांकमा वैदेशिक रोजगारमा जाने महिलाको उमेर समूहमा २४ देखि ३४ वर्षका ५२.३ प्रतिशत, १८ देखि २४ उमेरका ३२.३ प्रतिशत र ३५ देखि ४४ वर्ष उमेरका १४.६ प्रतिशत र ४५ देखि माथिका ०.८ प्रतिशत उल्लेख छ ।

विभागका अनुसार बर्सेनी ६० हजार हाराहारी महिला वैदेशिक रोजगारीमा जाने गरेका छन् । आर्थिक वर्ष २०७८–७९ मा ४९ हजार महिला वैदेशिक रोजगारीमा गएका थिए । आर्थिक वर्ष २०७९–८० मा ७२ हजार महिला श्रम गर्न विदेश गए । आर्थिक वर्ष २०८०–८१ मा भने वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बढेर ८० हजार पुगेको छ ।

वैदेशिक रोजगार बोर्डका प्रवक्ता टिकाराम ढकालले तुलनात्मक रुपमा पुरुषभन्दा महिला कमै विदेश जाने गरेको देखिए पनि पछिल्लो तथ्यांकले रोजगारीका लागि विदेश जाने क्रम बढ्दो अवस्थामा रहेको बताए । उनका अनुसार खाडी मुलुक जाने महिलाको संख्या क्रमशः वृद्धि भइरहेको छ । ‘अधिकांश महिला साउदी, मलेसिया, कुवेत, कतार, युएइलगायत खाडी मुलुकमा रोजगारका लागि जानुहुन्छ,’ प्रवक्ता ढकालले भने, ‘त्यसमा पनि श्रम स्वीकृति नलिई लुकेर जानेहरुको तथ्यांक पाउन मुस्किल छ ।’

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाले वैदेशिक रोजगारमा आमा जान बाध्य हुँदा परिवारमा नकारात्मक असर परेको बताइन् । आयोगले एक वर्षअघि गरेको अध्ययनको तथ्यांक विश्लेषण गर्दै उनले भनिन्, ‘आमा नहुँदा घर परिवार लथालिंग भएको छ ।’ राज्यले स्वदेशमै रोजगारीको सुनिश्चितता नगर्दा नागरिककले सास्ती खेप्नुपरेको उनको भनाइ छ ।

पौरखी नेपालका पूर्वअध्यक्ष मञ्जु गुरुङका अनुसार आमाहरु परिवार पाल्न बिदेसिनुमा सामाजिक, आर्थिक, राजनीतिक पक्षहरु मुख्य छन् । संस्थाले विदेश जानुअघि परामर्श दिने, सकेसम्म स्वदेशमै बस्न उत्साहित गर्ने र नभएमा विदेश जाँदा अपनाउनुपर्ने सचेतताबारे परामर्श दिँदै आएको उनले बताइन् । बितेका १५ वर्षमा पाँच हजारभन्दा बढी वैदेशिक रोजगारीमा अलपत्र महिलाको उद्धार गरिएको उनले जानकारी दिइन् । ‘नेपाली समाजमा महिला विभेद सहन बाध्य छन्,’ उनी भन्छिन्, ‘जसले गर्दा घर छोडेर कमाउन बिदेसिएका छन् ।’ आमाहरुलाई स्वदेशमै टिकाउन राज्यले उद्यमशील नीति ल्याउन जरुरी रहेको उनको सुझाव छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय