भद्रपुर (झापा)– मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासमा चिया निर्यात ३६ प्रतिशतले बढेको छ । कार्यालयको तथ्यांकअनुसार तीन महिनामा ६ हजार ४२६.७६ मेट्रिक टन चिया निर्यात भएको हो ।

चिया निर्यातको परिमाणसँगै यसको मूल्य ५०.८८ प्रतिशतले बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ७१ करोड ४० लाख ३१ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ । आर्थिक वर्ष २०८०–८१ को सोही अवधिमा १ अर्ब १३ करोड ५९ लाख ९४ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको थियो ।

भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपालबाट चियाको निर्यात बढेको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले जानकारी दिए। चिया निर्यातमा सरकारले सहजीकरण गरिदिने हो भने भारतमा माग बढेकाले चियाको निर्यात अझै बढ्ने अध्यक्ष पराजुलीको दाबी छ ।

कार्यालयको तथ्यांक अनुसार चालु वर्षको पहिलो त्रैमासमा अलैँची निर्यात ४९ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको तीन महिनामा ७८३.७५ मेट्रिक टन अलैंची निर्यात भएको छ । आर्थिक वर्ष २०८०–८१ को सोही अवधिमा १ हजार ५२५.९६ मेट्रिक टन अलैंची निर्यात भएको थियो ।

कार्यालयको तथ्यांक अनुसार प्लाइउड, अम्रिसो र भेनियर सिटको परिमाण क्रमशः २५, ३९ र १६६ प्रतिशतले वृद्धि भएको छ । यसैगरी अदुवा, छुर्पी, फलाम, तरकारीलगायत वस्तुको निर्यातमा कमी आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर