काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि तथा पशुपन्छी बीमाको ‘रियल टाइम सफ्टवेयर’ सुरु गरेका छन् ।

मन्त्रालयले आज आयोजना गरेको कार्यक्रममा ललितपुरका गाईपालक कृषक गोविन्द घिमिरेलाई पहिलो बीमालेख जारी गरी बीमाको रियल टाइम सफ्टवेयर सुरु गरेका हुन् । मन्त्रालयले नेपाल बीमा प्राधिकरणको सहयोगमा बीमाको रियल टाइम सफ्टवेयर सुरु गरेको हो । पशुधनबाट यसको सुरुआत गरिएको छ ।

सो कार्यक्रममा मन्त्री अधिकारीले चालु आर्थिक वर्षमा बीमाका लागि २ अर्ब ६ करोड रुपैयाँ बजेट रहेको उल्लेख गर्दै बीमाको माग बढी भएमा मन्त्रालयको अन्य शीर्षकको बजेटबाट पनि व्यवस्थापन गरिने प्रतिबद्धता जनाए । बीमा गर्न चाहने सबै किसानलाई यसमा आबद्ध हुन पनि उनले आग्रह गरे ।

आफूले कार्यभार सम्हालेको १०० दिनमा भएका उपलब्धिबारे जानकारी गराउँदै उनले दूध किसानले जेठ मसान्तसम्मको बक्यौता भुक्तानी पाएको बताए । बाँकी चार महिनाको भुक्तानी पनि छिटो दिने गरी पहल भइरहेको सुनाए । रासायनिक मलको समस्या कम गर्न सफल भएको, उखु किसानको भुक्तानी गरिएको विषयलाई उनले उपलब्धिका रुपमा सुनाए ।

मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले बीमाप्रति विश्वास बढेकाले डिजिटल प्रविधिबाट पनि आवेदन गर्न सकिने प्रणाली सुरु गरिएको बताए । गत वर्ष १ अर्ब ७३ करोड रुपैयाँ बीमाको भुक्तानीका लागि दाबी भएको उनले सुनाए । प्राधिकरणका निर्देशक निर्मल अधिकारीले कृषि बीमाका लागि सक्दो सहयोग गरिने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय