
पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
यसअघि ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न दिएको म्याद सकिएपछि प्रहरीले उनलाई बिहीवार अदालत लगेर थप म्याद मागेको थियो ।
जिल्ला अदालत कास्कीका सूचना अधिकृत सुरज अधिकारीले न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जानकारी दिए।
यसअघि अदालतले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । सहकारी ठगीको आरोप लागेका लामिछानेलाई प्रहरीले अघिल्लो शुक्रबार काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालय चःमतिबाट पक्राउ गरी पोखरा लगेको थियो ।
सभापति लामिछाने पक्राउ परेदेखि नै रास्वपाले पोखराकेन्द्रित आन्दोलन तथा प्रदर्शन गर्दै आएको छ। पार्टीले अब काठमाडौंकेन्द्रित आन्दोलन गर्ने तयारी गरेको जानकारी दिएको छ।