काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली लिएबापतको महसुल नबुझाउने उद्योगको लाइन काट्न सुरु गरेको छ ।

प्राधिकरणले प्रवक्ता चन्दनकुमार घोषले उद्योगको नाम नदिए पनि लाइन काट्ने काम सुरु भइसकेको र शुक्रबार बिहानसम्ममा सबैको लाइन काटिने बताए ।

वितरण केन्द्रको स्रोत साधनले भ्याएसम्म आज राति नै महशुल नबुझाउने उद्योगको लाइन काट्ने उनले स्पष्ट पारे । प्राधिकरणले यसअघि ९० दिनको म्याद दिएर महसुल बुझाउन पत्राचार गरेकोमा उद्योगहरुले नटेरेपछि लाइन काट्न थालेको हो ।

प्राधिकरणले बक्यौता नतिरेका उद्योगलाई दिएको तीन महिने म्याद बिहीबार सकिएको छ । किस्ताबन्दीमा महशुल बुझाउन थालेका उद्योगको लाइन भने नकाटिने र त्यस्ता उद्योगको संख्या पाँच रहेको उनले जानकारी दिए ।

तोकिएको समयमा पनि महसुल नबुझाएपछि प्राधिकरणले महसुल नबुझाएका सबै उद्योगको लाइन काटेको बताइएको छ ।

यसअघि बिहीबार बिहान प्राधिकरण सञ्चालक समितिको बैठक बसेको थियो । उक्त बैठकमा ऊर्जामन्त्री दीपक खड्काले लाइन काट्न नहुने धारणा राखेका थिए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लाइन नकाट्ने हो भने सरकारले लिखित निर्देशन दिनुपर्ने अडान राखेका थिए । त्यसपछि बैठकले महसुलबारे कुनै निर्णय गर्न सकेको थिएन ।

बिहीबारको मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री दिपक खड्काले घिसिङको अडानबारे जानकारी गराएको स्रोतको भनाइ छ । घिसिङ डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली उपभोग गरेका उद्योगले महसुल बुझाउनैपर्ने अडानमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय