काठमाडौं– जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लर्निङ म्यानेजमेन्ट सिस्टम (नेपाल लाइफ पाठशाला)को अनावरण गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले उक्त प्लेटफर्ममा लग इन गरी पाठशाला अनावरण गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

उक्त कार्यक्रममा नेपाल लाइफका उच्च पदस्थ अधिकारी, पेसागत बीमा अभिकर्ता संघ नेपालका प्रतिनिधि तथा पेसागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका प्रतिनिधिको उपस्थिति रहेको बताएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले नेपालको जनसंख्यामा युवा जनशक्तिको हिस्सा दक्षिण एसियामै सबैभन्दा बढी भएको र यो ऊर्जावान शक्तिलाई उद्यमशीलतामा लगाउन सके देशको आर्थिक विकास सहजै हुने बताए ।

भूमण्डलीकरणको कारणले विश्व एउटा डिजिटल डिभाइसमा समेटिन पुगेको भन्दै उनले यसको प्रयोग गर्दै आर्थिक स्वतन्त्रता प्राप्त गर्न सबै युवालाई आग्रह गरे । नेपाल लाइफले ल्याएको उक्त प्लेटफर्मका कारण अब घरै बसेर आफ्नो अनुकूल समयमा बीमा अभिकर्ताको तालिम लिन सकिने र यसले बीमाको प्रचारप्रसार तथा विस्तारमा अतुलनीय भूमिका निर्वाह गर्ने पराजुलीले बताए ।

हालको लागि नेपाल बीमा प्राधिकरणले तर्जुमा गरेको पाठ्यक्रमको आधारमा बीमा अभिकर्ताको आधारभूत तालिमको लागि श्रव्य, दृश्यहरू निर्माण गरी सञ्चालनमा ल्याइएको र आगामी दिनमा कर्मचारीको सिप ज्ञान अभिवृद्धिका निम्ति पनि कार्यहरु थालनी गर्ने उनको भनाइ छ ।

यसका साथै उनले निकट भविष्यमै बीमाको महत्त्व र बीमासम्बन्धी सम्पूर्ण जानकारी एउटै प्लेटफर्ममा उपलब्ध गराउने अभिप्रायका साथ उक्त प्लेटफर्मलाई सशक्त बनाउँदै जाने पनि उनले बताए ।

सोही अवसरमा कम्पनीले बीमाको नवीकरण शुल्क दाखिला तथा बिमा योजनाअन्तर्गत लिएको कर्जाको भुक्तानी गर्नका निम्ति कम्पनीले सञ्चालनमा ल्याएको डाइनामिक क्यूआरको पनि प्रयोग गरी घरै बसेर सहजताका साथ भुक्तानी गर्न पनि सुझाए ।

कम्पनीका नायब महाप्रबन्धक उमापति पोखरेलले पहिला भौतिक उपस्थितिमा तालिम प्रदान गर्दै आएकोमा यो प्लेटफर्मले त्यो परिस्थितिको अन्त्य गरेको बताए । अब बीमा अभिकर्ता बन्ने दृढ इच्छाशक्ति भएको खण्डमा भौतिक तालिमै कुर्न नपर्ने र आफ्नो अनुकूल समयमा तालिम लिई बीमालाई नेपालीको घरघरमा पुर्याउन सकिने बताए । बीमा उद्योगमा यस्तो प्रविधिमैत्री प्लेटफर्मको विकास गर्ने पहिलो कम्पनी नेपाल लाइफ रहेको उनले बताए ।

कार्यक्रममा तालिम विभागका प्रमुख रोजेश बस्नेतले उक्त प्लेटफर्मको उपयोगिता र प्रयोग गर्ने तरिकाबारे प्रस्तुती दिएका थिए । सूचना प्रविधि विभागका प्रमुख शरदचन्द्र प्याकुरेलले डाइनामिक क्यूआरको प्रयोग कसरी गर्ने र त्यसको उपयोगिता माथि प्रकाश पारे ।

पेसागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका सचिव तेजमणि शर्मा तिमल्सिनाले कम्पनीले सञ्चालनमा ल्याएको प्लेटफर्मले तालिम प्रक्रियालाई सहज बनाउने बताए । उनले आगामी दिनमा पनि प्रविधिमैत्री कार्यहरूमा नेपाल लाइफको अग्रसरता कायम रहनेमा आफू निर्धक्क रहेको बताए ।

पेसागत बीमा अभिकर्ता संघ नेपालका वरिष्ठ उपाध्यक्ष नारायण दाहालले विगत सम्झिँदै करिब दुई दशकअघि बीमा अभिकर्ताको तालिम नियामक निकायले मात्र प्रदान गर्ने गरेको र हालको दिनमा घरै बसेर तालिम लिन सक्ने अवस्थाको सिर्जना गर्न नेपाल लाइफ सफल भएकोमा कम्पनीको मुक्तकण्ठले प्रशंसा गरे ।

समापन मन्तव्यका क्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले यस प्रविधिको निर्माणमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सामेल सबै पदाधिकारीलाई धन्यवाद ज्ञापन गरे । इनोभेसनलाई केन्द्रबिन्दुमा राखेर कम्पनीको प्रक्रियालाई सहज सरल चुस्त र दुरुस्त बनाउन कम्पनी सदैव तयार रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर