काठमाडौं– पशुपतिनाथको मन्दिर सामान्य अवस्थामा झैं बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म खुला हुने भएको छ । कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि गत वर्ष चैत ११ गते लागू गरिएको बन्दाबन्दीअघिकै समयानुसार मन्दिर खुला हुने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए ।

महाशिवरात्रिदेखि पशुपति मन्दिर सामान्य रुपमा खुल्न थालेको उनले बताए । पोहोर चैत ११ गते कोरोना रोक्न भन्दै देशव्यापी लकडाउन गरिएपछि पशुपतिनाथ मन्दिरमा भक्तजनलाई दर्शन गर्न पनि रोक लगाइएको थियो ।

कोरोनाको जोखिम कम हुँदै गएपछि पुस १ गतेदेखि बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म मन्दिर खुला गरिएको थियो । अब भने साबिक बमोजिम मन्दिर खुला गरिएको कोषका कार्यकारी निर्देशक डा खतिवडाले जानकारी दिए ।

शुक्रबारदेखि नै पशुपतिनाथ मन्दिर बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म खुला भएको छ । मध्याह्न करिब एक घन्टा भने पशुपतिनाथको पूजा एवं भोगका लागि मन्दिर बन्द गर्ने विधि छ ।

कोरोना कालमा रोकिएको विशेष पूजा पनि कोषले फागुन २५ देखि सुरु गरेको छ । हाल एक हजार १०० देखि २७ हजारसम्मको विशेष पूजा रसिद काटेर गर्न थालिएको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए । पशुपति मन्दिरमा ११०० देखि २५ लाखसम्मको विशेष पूजा हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय