काठमाडौं– यस वर्ष तिहारको लक्ष्मीपूजाको दिन देशभित्र बिजुलीको उच्च माग (पिक डिमान्ड) १६०२ मेगावाट रेकर्ड गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

‘लक्ष्मीपूजाको दिन आइतबार साँझ ६.२५ बजे पिक डिमान्ड १६०२ मेगावाट रेकर्ड गरिएको हो,’ प्राधिकरणले भनेको छ, ‘गत वर्षको २६ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमान्ड १४३८ मेगावाट थियो ।’ गत वर्षको भन्दा यस वर्ष लक्ष्मीपूजाको दिन पिक डिमान्ड १६४ मेगावाट बढी हो ।

तिहारमा उद्योग, कलकारखाना बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमान्ड औद्योगिक ग्राहक बाहेकको भएको पनि प्राधिकरणले स्पष्ट पारेको छ । लक्ष्मीपूजाको दिनको पिकको विद्युत् मागलाई देशभित्रैका विद्युत्गृहहरुबाट उत्पादन गरी आपूर्ति गरिएको थियो ।

देशभित्रको माग धानेर बढी भएको भएको २५३ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात गरिएको प्राधिकरणको भनाइ छ । गत वर्ष लक्ष्मीपूजा पिक समयमा ५१७ मेगावाट मात्र निर्यात गरिएको थियो । यस वर्ष बाढीपहिरोले क्षति पुग्दा ४५६ मेगावाटको माथिल्लो तामाकोशी, काबेली करिडोर प्रसारण लाइनमा जोडिएको करिब २०० मेगावाट र अन्य केही साना जलविद्युत आयोजनाको विद्युत् उत्पादन बन्द छ । यसले गर्दा यस वर्षको विद्युत् निर्यात प्रभावित भएको हो ।

लक्ष्मीपूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युत्को माग १८५५ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष प्रणालीको पिक डिमान्ड १९५५ मेगावाट थियो । यस वर्ष लक्ष्मीपूजाको दिन काठमाडौं उपत्यकाको पिक डिमान्ड ३९० मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष ३६६ मेगावाट थियो ।

ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्य रतन ऐन, कार्यकारी निर्देशक कुलमान घिसिङ, ग्राहक तथा वितरण सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायतको टोली लक्ष्मीपूजाको दिन विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन बिहीबार स्यूचाटारस्थित भार प्रेषण केन्द्रको नियन्त्रण कक्षमा खटिएका थिए ।

कार्यकारी निर्देशक घिसिङले बिगतमा लोडसेडिङको अवस्थामा लक्ष्मीपूजाको दिनको विद्युत् मागलाई पिक डिमान्ड मान्ने गरिएकोमा अहिले त्यस्तो अवस्था नरहेको बताए । कार्यकारी निर्देशक घिसिङले भने, ‘आठ वर्षअघि लक्ष्मीपूजाको दिनको विद्युत् माग व्यवस्थापनका लागि आयात हुने गरेकोमा केही वर्षदेखि आन्तरिक उत्पादनले नै धानेर बचत भएको विद्युत् निर्यात गर्ने अवस्थामा पुग्नु ऊर्जा क्षेत्रमा ऐतिहासिक फड्को हो, बाढीपहिरोले जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति नपुर्याएको भए यो वर्ष लक्ष्मीपूजाको दिन झन्डै एक हजार मेगावाट विद्युत् निर्यात गर्ने अवस्थामा हुन्थ्यौं ।’

उनले लोडसेडिङ अन्त्य भई निरन्तर विद्युत् आपूर्ति हुन थालेपछि र विद्युतीकरण व्यापक रुपमा गरिएपछि हरेक वर्ष देशभित्रको विद्युत् माग बढिरहेको बताए ।
प्राधिकरणले तत्कालीन समयमा भइरहेको लोडसेडिङलाई २०७३ सालको लक्ष्मीपूजाको दिनबाट परीक्षणका रुपमा अन्त्यको सुरुवात गरेको थियो । परीक्षण सफल हुँदै गएपछि २०७५ साल वैशाखबाट देशलाई पूर्ण रुपमा लोडसेडिङमुक्त घोषणा गरिएको थियो । अहिले मुलुक लोडसेडिङबाटमुक्त मात्र छैन देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् निर्यात भइरहेको छ । विद्युत्को खुद आयातकर्ताबाट गत आर्थिक वर्षबाट नेपाल खुद निर्याकर्ता बनेको छ ।

लक्ष्मीपूजाको विद्युत् माग व्यवस्थापनका लागि जलाशययुक्त कुलेखानी पहिलो, दोस्रो र तेस्रोबाट १०६ मेगावाट विद्युत उत्पादन क्षमता भए तापनि प्राधिकरकणले पिक समयमा ६२ मेगावाटमा मात्र चलाएको थियो । प्राधिकरणका स्वामित्वका अन्य विद्युत्गृहहरुबाट ६२ मेगावाट, चिलिमेलगायतका प्राधिकरणका सहायक कम्पनीका स्वामित्वमा रहेका विद्युत्गृहहरुबाट ९० मेगावाट, निजी क्षेत्रका विद्युत्गृहहरुबाट १३०४ मेगावाट विद्युत् उत्पादन गरी आपूर्ति गरिएको थियो ।

विगत वर्षमा झैं यस वर्ष लक्ष्मीपूजाका दिन मुलकभर विनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको विज्ञप्तिमा उल्लेख छ । प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत् अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र विद्युत्गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय