काठमाडौं– हिन्दु धर्म मान्ने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औंसीको दिन भए पनि आज कुनै तिहारको पर्व नपरेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।

औंसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ । औंसीसहित कार्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा शनिबार परेको पनि समितिले तिहारका सम्बन्धमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आज तिहारको कुनै पर्व नपरे पनि औंसी आफैंमा पर्व हो । प्रत्येक महिनाको औंसीलाई पर्व मानिन्छ । औंसीमा विशेषगरी पितृकर्म हुने गर्छ ।

यो वर्ष तिथिको घटबढका कारण औंसीमा सूर्योदय भएको आजको दिन कुनै पर्व नपरेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी गराएका छन् ।

तिथिका आधारमा यस्तो संरचना केही वर्षका अन्तरालमा हुने गरेको उनले सुनाए। यस्तो संरचना परेकैले पाँच दिनमा सकिने दोस्रो चाड तिहार यस वर्ष ६ दिनसम्म लम्बिएको छ । कार्तिक कृष्ण त्रयोदशीका दिन सुरु हुने तिहार यस वर्ष कात्तिक १३ गते मंगलबार सुरु भएको थियो ।

यो पर्व कार्तिक शुक्ल द्वितीयाका दिन कात्तिक १८ गते आइतबार दिदीबहिनीका हातबाट दाजुभाइ विधिपूर्वक परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाएपछि सकिन्छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औंसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औंसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए। गाईलाई गौमाताका रूपमा सम्मान गरिने भएकाले वर्षका ३६५ दिन नै गाई पूजा गर्न पनि सकिन्छ । तर तिहारका अवसरमा गरिने गाई पूजा भने शनिबार नै गर्नुपर्ने उनको भनाइ छ । यसैले गाईतिहार पनि शनिबार नै मनाइन्छ ।

कात्तिक १७ गते शनिबार भने गाईगोरु पूजा, गोवर्द्धनपूजा, बलिपूजा, हलीतिहार, म्ह (आत्म) पूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि गरी ६ वटा पर्व एकै दिन परेको समितिले स्वीकृति दिएका पात्रो (पञ्चांग) र भित्तेपात्रोमा उल्लेख गरिनुका साथै समितिले तिहारको अवसरमा जारी गरेको विज्ञप्तिमा पनि प्रष्ट रूपमा लेखिएको छ । यसरी प्रष्ट पार्दापार्दै पनि शुक्रबार नै गाई पूजा भनी चर्चा परिचर्चा भइरहेकाले यसप्रति सचेत हुन समितिले आह्वान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय