जलेश्वर (महोत्तरी)– तिहार र छठका लागि जिल्लाको सीमापारि बजारमा सामान ल्याउन जाने नेपालीहरूले १०० भारुको लागि १६६ रुपैयाँ नेपाली तिर्दै आएका छन् ।

नेपाली ग्राहकसँग भारतीय रुपैयाँ नरहेका कारण भारतीय बजारमा मालवस्तु खरिद गर्दा सयकडा ६ रुपैयाँ बट्टा (कमिसनर) तिर्नुपरेको जलेश्वर नगरपालिका–२ का ग्राहक सुदीश साहले बताए ।

महोत्तरीसँग सीमा जोडिएको भारतीय बजार भिठ्ठामोड, सुरसण्ड, मधवापुर, साहरघाटका बजारमा अहिले नेपाली ग्राहक चाडबाडको किनमेल गर्न जाँदा भारतीय व्यापारीले मनपरी ढंगले नेपाली पैसामा बट्टा (कमिसन) लिएर मालवस्तु दिने गरेको जलेश्वर नगरपालिका–८ का ग्राहक राजु मण्डलले बताए। उनले भारतीय बजारमा नेपाली पैसालाई भारतीय पैसासँग साट्दा भारु १०० को बदलामा नेपाली १६६ र बढीमा १६८ सम्म बट्टा लिने गरेको बताए।

जलेश्वर–४, भिठ्ठामोडमा कपडा र खाद्यवस्तु किनमेल गर्न पुगेकी बन्दना पाण्डेसँग त्यहाँका व्यापारीले नेपाली १ हजारको सरदर भारु ६०० मात्र दिएको र त्यतिमा कारोबार गरे गर्नुस्, होइन भन्ने सामान बेच्दैनौं भनेपछि त्यत्तिमै कारोबार गरेर आएको बताइन्।

त्यस्तै पिपरा गाउँपालिका–७ बाट सुरसण्ड बजारमा सामान किन्न गएका वैद्यनाथ चौधरीले पनि नेपाली १ हजारको सरदर भारु ६०० मा कारोबार गरेको बताए । एकडारा गाउँपालिका–४ बाट पूजा र प्रसाद सामग्री तथा बालबालिकाका लागि कपडा खरिद गर्न सुरसण्ड बजार पुगेका स्थानीय रामनाथ राय र शिवशंकर रायले पनि आफूहरूले त्यहाँ किनमेल गर्दा भारु १०० को लागि नेपाली १६६ रुपैयाँ तिर्नुपरेको गुनासो गरे ।

महोत्तरीको प्रत्येक भारतीय सीमानाकामा झोले सटही सञ्चालन गर्ने दर्जनौं युवाले नेपालीसँग १०० भारुको नेपाली १६६ रुपैयाँ लिने गरेका छन् ।

बजारमा भारतीय पैसाको अभाव हुनु र नेपाली ग्राहकले ६ रुपैयाँ सम्म अतिरिक्त पैसा तिर्नुपरेको छ । सुन तस्करी र हुण्डी कारोबारका कारण अहिले सीमाक्षेत्रका भारतीय बजारमा भारतीय रुपैयाँ नै गायब भएको एक ठूला व्यापारीले बताए।

यता नेपाली बजारमा मालवस्तु महँगो र भारतीय बजारमा सस्तो भएको र बट्टा लिएर पनि भारतीय बजार नै ठिक रहेकाले नै महोत्तरीका सीमाक्षेत्रका भारतीय बजारमा नेपाली ग्राहकको भीड लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय