काठमाडौं– नेपालीहरुको दोस्रो ठूलो चाड तिहारसँगै लुकिछिपी पड्काउने पटकाका कारण वायु प्रदूषण बढेको छ । एयर क्वालिटी इन्डेक्स’ले शुक्रबार साँझ काठमाडौको समग्र वायु गुणस्तर सूचकांक (एक्यूआई) १६० रहेको जनाएको छ ।

एक दिनअघि बिहीबार काठमाडौंमा एक्यूआई सयभन्दा कम देखिएको थियो । इन्ड्क्सका अनुसार शुक्रबार साँझसम्म काठमाडौं विश्वको आठौं प्रदूषित सहरको सूचीमा सूचीकृत छ । चीनको बेइजिङ विश्वको पहिलो प्रदूषित सहरको रुपमा सूचीकृत भएको छ । विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले तिहारमा पड्काइएको पटकाका कारण वायु तथा ध्वनि प्रदूषण गराउने भन्दै पटका पड्काउन कडाइका साथ नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

उनका अनुसार एक्यूआई शून्यदेखि ५० राम्रो अर्थात् ग्रिन संंकतले चिनिन्छ । ५१ देखि १०० सम्मको एक्यूआईलाई होसियार रहुँ अथवा पहेंलो संकेतले चिनिन्छ । यसै गरी १०१ देखि १५० सम्मलाई अस्वस्थ जसमा श्वासप्रश्वास र मुटु रोगका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ । १५१ देखि २०० सम्मको एक्यूआईलाई पनि अस्वस्थ र सबैलाई असर गर्छ भन्ने बुझिन्छ । २०१ देखि ३०० सयलाई धेरै अस्वथ्य मानिन्छ ।

काठमाडौं उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्यूआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख गरेको छ ।

पटका पड्काउँदा विभिन्न रासायनिक पदार्थहरु जस्तै सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड र धुलोका कणहरु वायुमण्डलमा फैलने र प्रदूषण बढाउने भन्दै सतर्कता अपनाउन वातावरणविद्हरुले आग्रह गरेका छन् ।

वातावरणविद् भूषण तुलाधारले पटका जस्ता विषाक्त ग्यासहरुले हावा प्रदूषित बनाउने र यसकारण श्वासप्रश्वाससम्बन्धी समस्या उत्पन्न गर्ने भन्दै पटका पड्काउन रोक लगाउनुपर्नेमा जोड दिए ।

वातावरण अभियन्ता राजन थापाले दिपावलीसँगै एक महिनाअघि गएको बाढी तथा पहिरोका कारण धुलो उड्ने, गाडीले बाहिरका धुलो काठमाडौं भित्र्याउने तथा तातो हावा र चिसो हावाको मिश्रणका कारण पनि प्रदूषण बढेको बताए । ‘दिपावालीको समयमा भारतमा बढी पटका पड्काउँदा प्रदूषण गराएपछि अहिले त भारत सरकारले नियन्त्रण पनि गर्न थालेको छ, पटका मात्रै नभएर अन्य कारण पनि प्रदूषण हुन थालेको छ,’ उनी भन्छन्, ‘अब चिसोमा आगो बाल्ने क्रम बढ्छ । यसले अझै प्रदूषण बढ्दै जानेछ ।’

पटकाबाट निस्कने धुवाँ र ग्यासले एलर्जी, आँखा पोल्ने, छाला चिलाउने, दम, र स्वासप्रश्वास सम्बन्धी समस्या उत्पन्न गर्छ। विषाक्त ग्यासहरुको कारण कलेजो, फोक्सो र मुटुको समस्या पनि हुन सक्ने भन्दै सतर्कता अपनाउन जनश्वास्थ्यविद्हरुले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय