काठमाडौं– चालु वर्ष सन् २०२४ को १० महिनामा ९ लाख ४० हजार ७३२ विदेशी पर्यटक नेपाल आएका छन् । यो हवाई मार्गबाट आउने पर्यटकको संख्या हो ।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार गत अक्टोबरमा आएका १ लाख २४ हजार ३९३ विदेशी पर्यटकको संख्या जोड्दा कुल आमगन ९ लाख ४० हजार नाघेको हो ।
यो वर्ष १० महिनाको पर्यटक आगमन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.४ प्रतिशतले बढी हो ।

सन् २०२३ को अक्टोबरमा १ लाख १७ हजार ३०६ पर्यटक हवाई मार्गबाट नेपाल आएका थिए । कोभिड–१९ पूर्व सन् २०१९ को तुलनामा ९२.९६ प्रतिशतले पर्यटक संख्यामा पुनरुत्थान भएको बोर्डले जनाएको छ । सन् २०१९ को अक्टोबरमा १ लाख ३४ हजार ९६ विदेशी पर्यटक नेपाल आएका थिए ।

बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार समग्रमा विदेशी पर्यटक आगमन सन्तोषजनक छ । ‘समग्रमा पर्यटक आगमन सकारात्मक देखिन्छ । अक्टोबरमा अपेक्षाकृत पर्यटक आउन सकेनन्, महिनाको सुरु हुनै लाग्दा वर्षाजन्य विपद्को घटना भयो । अबको दुई महिनामा पर्यटक बढ्ने अनुमान गर्न सकिन्छ ।’

भारतीय र चिनियाँ घटे
बोर्डको विश्लेषणमा अगस्ट, सेप्टेम्बार र अक्टोबरमा भारतबाट आउने पर्यटक घटेका छन् । पछिल्ला दुई महिनामा चीनबाट आउने पर्यटक पनि घटे । अक्टोबरमा भारतबाट १६ हजार ३१३ पर्यटक आएका छन् । गत सेप्टेम्बरमा भारतबाट २२ हजार ९८४ पर्यटक आएका थिए । यो करिब १३ प्रतिशत गिरावट हो । अगस्टमा २५ हजार ८३२ भारतीय पर्यटक आएका थिए । अक्टोबरमा चीनबाट आएका ७ हजार ७५० पर्यटकले नेपाल भ्रमण गरेका छन् । सेप्टेम्बरमा ८ हजार ४२ र अगस्टमा चीनबाट ६ हजार ६१४ चिनियाँ पर्यटक आएका थिए । मनसुनका कारण भारतीय र चिनियाँ पर्यटक घटेको अनुमान गरिएको छ ।

अमेरिकी पर्यटक बढे
अक्टोबरमा अमेरिकाबाट आउने पर्यटकको संख्या अघिल्लो महिनाको तुलनामा १२.८८ प्रतिशतले बढेर १६ हजार २३ पुगेको छ । सेप्टेम्बरमा १० हजार ८४ अमेरिकी पर्यटक भित्रिएका थिए । बेलायतबाट ८ हजार १९ पर्यटक नेपाल भित्रिएका छन् । अस्ट्रेलियाबाट ६ हजार ९२९, जर्मनीबाट ६ हजार १८ र फ्रान्सबाट ५ हजार ४८५ पर्यटक आएका छन । बंगलादेशबाट ४ हजार ४७६, श्रीलंकाबाट ३ हजार ११२ र इटालीबाट २ हजार ६३५ पर्यटक आएका छन् ।

मार्चमा सबैभन्दा बढी १ लाख २८ हजार १६७ पर्यटक आएका छन् भने सबैभन्दा कम जुलाईमा ६४ हजार ९९९ पर्यटक हवाई मार्गबाट नेपाल आए । अक्टोबरमा १ लाख २४ हजार ३९३ अप्रिलमा १ लाख ११ हजार ३७६ पर्यटक आए । सेप्टेम्बरमा ९६ हजार ३०५, जनवरीमा ७९ हजार १००, फेब्रअरीमा ९७ हजार ४२६, मेमा ९० हजार २११, जुनमा ७६ हजार ७३६ र अगस्टमा ७२ हजार ७१९ पर्यटक नेपाल आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय