काठमाडौं– सहकारी ठगी प्रकरणमा काठमाडौंबाट पक्राउ गरी कास्की प्रहरीको हिरासतमा राखिएका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।
लामिछानेलाई हिरासतमा राख्न दोस्रोपटक थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो । सोही दिनदेखि गणना हुने गरी म्याद थप भएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिएका छन् ।
न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीले २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति मागेको थियो ।
लामिछानेलाई प्रहरीले कात्तिक २ गते काठमाडौंमा पक्राउ गरी पोखरा लगेको थियो ।