काठमाडौं– प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी खारेज गरेर केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समितिमा रुपानतरण गरेका छन् । ओली समूहले माओवादीबाट आएका रामबहादुर थापा बादललाई बाग्मती प्रदेश इन्चार्ज तोकेको छ ।

ओलीले आफ्ना समर्थकलाई मात्रै सहभागी गराएको केन्द्रीय कमिटी बैठकबाट पदाधिकारी खारेज गर्ने निर्णय गरेका हुन् ।

एमाले पदाधिकारीमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरू वामदेव गौतम, विद्यादेवी भण्डारी, भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली थिए । यीमध्ये रावल, शाक्य र ज्ञवाली माधव नेपाल पक्षका हुन् । राष्ट्रपति निर्वाचित भण्डारी ओली पक्षधर हुन् ।

पार्टीको नवौं महाधिवेशनबाट महासचिवमा ईश्वर पोखरेल निर्वाचित भएका थिए । उपमहासचिवमा घनश्याम भुसाल र विष्णुप्रसाद पौडेल चुनिएका थिए । भुसाल माधव नेपाल पक्षमा छन् भने पौडेल ओली पक्षमा छन् ।

सचिवमा प्रदीप ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई, गोकर्ण विष्ट र पृथ्वीसुब्बा चुनिएका थिए । एमाले पदाधिकारीमा नेपाल पक्षको बहुमत थियो । ओली पक्ष त्यसलाई खारेज गरेर अघि बढ्न खोजेको छ ।

यो निर्णय गर्ने केन्द्रीय कमिटी बैठकमा नेपाल पक्षधरलाई बोलाइएको थिएन । सोही बैठकले आगामी मंसिरमा पार्टीको महाधिवेशन गर्ने निर्णय पनि गरेको छ ।

सोही बैठकले माओवादीबाट आएका रामबहादुर थापा बादललाई बाग्मती प्रदेशको इन्चार्ज तोकेको छ । माओवादीबाट आएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साह, झपट बोहोरा लगायत २२ जनालाई केन्द्रीय सदस्य नियुक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय