जनकपुरधाम– सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले पौष्टिक तत्व भएको (भिटामिनयुक्त) चामल उत्पादन सुरु गरेको छ । धान र चामलको खरिद–बिक्री गर्दै आएको सो कार्यालयले पौष्टिक तत्व भएको भिटामिनयुक्त चामलसमेत उत्पादन गरेर वितरण सुरु गरेको सो कार्यालयका कार्यालय प्रमुख गंगाप्रसाद साहले जानकारी दिए ।
विश्व खाद्य कार्यक्रमअन्तर्गत जनकपुरस्थित सो कार्यालयको हाताभित्र फोटोफिकेसन प्लान्ट जडान भएको छ । उक्त प्लान्टबाट भिटामिनयुक्त चामल उत्पादन भइरहेको बताइएको छ । त्यहाँ चामलको गुणस्तर समेत जाँच गरिन्छ । २०८१ वैशाख महिनामा प्लान्ट जडान भएको हो । प्लान्टबाट उत्पादित पौष्टिक चामल कर्णाली प्रदेशमा वितरण गरिँदै आएको छ ।
पौष्टिक तत्व भएको चामल विश्व खाद्य संगठनले भारतबाट खरिद गरी त्यसलाई उक्त प्लान्टमा पीठो बनाउने र प्रत्येक १०० केजीको बोरा चामलमा १ केजी पीठो मिसाएर (पौष्टिक तत्व) भिटामिनयुक्त चामल उत्पादन गरी कर्णाली प्रदेशका कुपोषित जनतालाई वितरण गर्ने गरिएको प्रमुख साहले बताए ।
विश्व खाद्य कार्यक्रमअन्तर्गत उक्त प्लान्ट खाद्य संस्थानको सुर्खेत, जनकपुर तथा काठमाडौं कार्यालयमा जडान गरिएको छ । भारतको रासन वितरणमा यो चामल अनिवार्य त्यहाँको सरकारले गरेको छ ।