काठमाडौं– भिडियो सेयरिङ एप टिकटक पनि नेपालमा दर्ता भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले टिकटक आवश्यक कानुनी प्रक्रिया पूरा गरेर नेपालमा दर्ता भएको जानकारी दिएका हुन् । उनका अनुसार सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिका बमोमिज टिकटकको दर्ता प्रक्रिया तिहारअघि नै सम्पन्न भएको हो ।

सरकारले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्दा विभिन्न सर्तहरु अघि सारेको थियो । अहिले तिनै सर्त पूरा गरेर टिकटक नेपालमा दर्ता भएको ठाकुरले जानकारी दिए ।

ठाकुरका अनुसार सरकारले मागेका कागजात उपलब्ध गराउन टिकटकले कात्तिक तेस्रो हप्तासम्मको समय मागे पनि महिनाको सुरूमै कागजात उपलब्ध गराएको थियो। दुई सय पृष्ठको कागजात अध्ययन गरिसकेपछि दर्ता गरिएको पनि उनले जानकारी दिए ।

टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने सामग्रीमा सहयोग गर्ने, डिजिटल साक्षरताका विषयमा सहयोग गर्ने लगायतका नेपाल सरकारले तोकेका सर्त पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सरकारले २०८० कात्तिक २७ मा गते टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सो निर्णयको राजनीतिक तथा जनस्तरबाट व्यापक विरोध भयो । टिकटकले पनि नेपालको नीति नियममा बसेर सञ्चालन गर्न तयार हुँदाहुँदै पनि प्रतिबन्ध लगाइएको भन्दै आपत्ति जनाएको थियो।

वर्तमान सरकार गठन भएपछि गत भदौ ६ गते टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको थियो। यससँगै आधिकारिक दर्ता गरेर सञ्चालन गर्नको लागि टिकटकले समय माग गरेको थियो।

आधिकारिक रूपमा दर्ता भएसँगै सरकारले टिकटकबाट राजस्व उठाउने बाटो खुलेको र नियमन पनि सहज रूपमा गर्न सक्ने मन्त्रालयका प्रवक्ता ठाकुरले बताए।

सामाजिक सञ्जाल मेटा र एक्स यसअघि नै नेपालमा दर्ता भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय