काठमाडौं– मारवाडी सेवा समितिअन्तर्गतको पशुपति गौशाला धर्मशालाले ८४औं गोपाष्टमी महोत्सवका अवसरमा आयोजित कार्यक्रममा सातजनालाई निःशुल्क कृत्रिम खुट्टा वितरण गरेको छ । धर्मशालाले आवश्यक पर्ने व्यक्तिलाई जुनसुकै बेला निःशुल्क कृत्रिम खुट्टा वितरण गर्ने गरे पनि चाडपर्वको बिदाका कारण रोकिएको कृत्रिम खुट्टा वितरण गोपाष्टमीको अवसरमा आयोजित कार्यक्रममा सम्पन्न गरिएको हो ।

मारवाडी सेवा समितिका अध्यक्ष प्रमोदकुमार अग्रवालले समितिलगायत समिति अन्तर्गतका पशुपति गौशाला धर्मशालाबाट प्रदान भइरहेका सेवा कार्यको जानकारी दिने क्रममा धर्मशालाले २०५४/५५ सालबाट निःशुल्क कृत्रिम खुट्टा वितरण कार्यक्रम सुरु गरेको जानकारी दिए । उनका अनुसार यसबाट हालसम्म विभिन्न कारणले खुट्टा गुमाएका ६ हजार ७०० जना लाभान्वित भएका छन् । आगामी दिनमा पनि निःशुल्क कृत्रिम खुट्टा वितरण कार्यक्रम निरन्तर रहने उनले बताए।

धर्मशालाले कृत्रिम खुट्टा वितरणका अतिरिक्त मिर्गौलाका बिरामीलाई हेमोलाइलाइसिस सेवा पनि निःशुल्क उपलब्ध गराइरहेको छ । धर्मशालाका अध्यक्ष रमेश तापडियाका अनुसार २०७८ चैत २१ बाट सुरु गरिएको निःशुल्क हेमोडाइलाइसिस सेवाबाट हालसम्म ३२४ बिरामीलाई २७ हजार ९७५ पटक डाइलाइसिस गरिसकिएको छ । हाल १९५ बिरामीले निःशुल्क लाइलाइसिस गराइरहेको पनि उनले जानकारी दिए । ‘दैनिक ८० देखि ९० जनाको डाइलाइसिस हुने गरेको छ,’ धर्मशालाका अध्यक्ष तापडियाले भने ।

यसका अलावा धर्मशालाले हरेक शनिबार निःशुल्क भोजन, निःशुल्क स्वास्थ्य परीक्षण र औषधी वितरण, शववाहनको निःशुल्क सेवा, मेला र पर्वमा तिर्थालुलाई निःशुल्क भोजन र आवासलगायत सेवा पनि प्रदान गर्दै आएको अध्यक्ष तापडियाले जानकारी दिए ।

मारवाडी सेवा समितिका अध्यक्ष अग्रवालका अनुसार मारवाडी समुदायले देशका विभिन्न सहरमा १५ वटा गौशाला स्थापना गरी गोवंशको संरक्षण गर्दै आएको छ ।

काठमाडौंको मारवाडी समुदायले ८४ वर्षअघि नै गौशाला स्थापना गरी गोवंशको संरक्षण गर्दै आएको उनले बताए। काठमाडौंको गौशालामा २५० र समितिअन्तर्गत धादिङको धार्केस्थित मारवाडी सेवा ग्राम गौधाममा २५० गाईको संरक्षण भइरहेको छ । धादिङमा बृद्ध अवस्थाका गाईहरु संरक्षित छन् ।

उनका अनुसार मोरङको मारवाडी समुदायले श्री रंगेली गौचर गौशाला र श्रीकृष्ण गो सेवा सदनमार्फत गौ संरक्षणको काम गरिरहेको छ । रंगेली गौचर गौशाला २०३७ सालदेखि सञ्चालनमा छ । जनकपुरमा २०१० सालदेखि सीताराम गौशाला सञ्चालनमा छ ।

अन्य गौशालाहरुले पनि गोपाष्टमीमा विशेष अनुष्ठान सम्पन्न गरेका छन् । यी गौशालाहरुले मारवाडी समुदायमा सीमित गोपाष्टमी पर्व मनाउने चलनलाई सबै हिन्दु समुदायमा विस्तार गर्ने गरी काम गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय