हेटौंडा– झापाको काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको ना४अ ५१४९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशातर्फ जाँदै गरेको ना६ख ८९ नम्बरको ट्रक शनिबार बिहान हेटौंडा–नारायणगढ सडक खण्डमा पर्ने मनहरी गाउँपालिका–६ सुनाचुरीमा एकआपसमा जुध्दा तीनजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बसका चालक वीरगन्ज महानगरपालिका–१५ बस्ने ३५ वर्षीय मदनकुमार थापा क्षेत्री, बसमा सवार भारत सिस्वा बस्ने अभयलाल कुसुवाह र भारतको विहार बस्ने सुनिल कुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

उनका अनुसार, दुर्घटनामा परी गम्भीर घाइते भएका बसचालक थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा शनिबार बिहान ५ बजे निधन भएको हो । बसमा सवार अभयलालको उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको र चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएका छ । गम्भीर घाइते सुनिललाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा लगिएको र चिकित्सकले मृत घोषणा गरेको बताइएको छ ।

सोही दुर्घटनामा परी ट्रक चालक, सहचालक गरी तीन र बसका सात गरी १० जना घाइते भएका छन् । घाइते सबैको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ । बसमा अन्दाजी ३५ यात्रु सवार थिए । उक्त घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय