काठमाडौं– बढ्दो चिसोसँगै डेंगी फैलाउने लामखुट्टेको वृद्धि विकासमा प्रतिकूल अवस्था सिर्जना हुँदा डेंगी संक्रमण घट्दै गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले तथ्यांकले डेंगी संक्रमणको ट्रेन्ड घट्दै गएको बताए। ‘डेंगी नियन्त्रणका लागि पालिकाहरुले खोज र नष्ट गर अभियान चलाएका छन् । तापक्रम घट्नु पनि यसको कारण हो । प्राकृतिक रुपमै चिसोमा लामखुट्टेले अण्डा उत्पादन गर्ने प्रक्रिया कम हुन्छ,’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समयअघि डेंगी नियन्त्रणका लागि देशव्यापी रुपमा लामखुट्टेको बास स्थानको खोजी र नष्ट अभियान सुरु गरेको थियो । मन्त्रालयले हरेक शुक्रबार १० बजेर १० मिनेटमा मन्त्रालय, विभाग, निजामति कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियन्ताका साथै आम नागरिकलाई सहभागी हुन आह्वान गरेको थियो । सरकारी तथा गैरसरकारी संस्था तथा नागरिकस्तरमा यो अभियान सञ्चालन भइरहेको छ ।
दाहालले विगतका वर्षको भन्दा अहिले संक्रमण दर घटेको बताए । उनले भने, ‘त्यस्ता खालका अभियानले पनि घट्न मदत गरेको छ । डेंगी विश्वव्यापी खतराको रुपमा देखिएको छ । अरु देशको अनुभव हेर्नुभयो भने संक्रमण र अस्पताल भर्ना हुनेको दर पनि बढ्दो छ । हामीले अझै धेरै गर्नुपर्नेछ तर पनि हाम्रो प्रयास र मेहनतले गर्दा सङ्क्रमणलाई घटाएका छौं।’
ईडीसीडीले उपलब्ध गराएको नोभेम्बर ८ सम्मको तथ्यांकअनुसार हाल सबैभन्दा बढी कास्कीमा ७ हजार २८६ जनामा सक्रिय डेंगी संक्रमण छ । त्यसैगरी काठमाडौंमा ४ हजार ८०३, तनहुँमा २ हजार ३७३ , पर्वतमा १ हजार ७४९, ललितपुरमा १ हजार २४१, बाग्लुङमा १ हजार २००, चितवनमा १ हजार १७५, भक्तपुरमा एक हजार ३४ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
डेंगीबाट मृत्यु हुनेको संख्या १२ छ भने ७६ जिल्लामा संक्रमण फैलिएको छ । प्रत्येक वर्षको जुनदेखि अगस्टसम्मको समयलाई सामान्यतया डेंगीले महामारीको रूप लिन सक्ने समय मानिन्छ ।
नोभेम्बर ५ को तथ्यांक तुलना गर्ने हो भने समष्टिगत रुपमा ४ दिनमा देशभर १ हजार २४९ मा डेंगी संक्रमण देखिन्छ, जुन अघिल्लो हप्ताभन्दा कम हो ।
प्रमुख डा. दाहालले भने, ‘चार हप्तामा डेंगी संक्रमण २ हजार पाँच सयबाट तल आएको छ । यसको ट्रेन्ड एक महिनायता बिस्तारै घट्दो क्रममा छ ।’ २०८० सालको पुस मसान्तसम्म देशभर झन्डै ५२ हजारभन्दा बढीमा डेंगी संक्रमण पुष्टि भएकोमा २० जनाको मृत्यु भएको थियो ।
डेंगी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्यांकी पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नाले यसबाट बच्न सकिन्छ ।