
काठमाडौं– अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले आफ्नो राष्ट्रपति कार्यकालको पहिलो दिनदेखि कागजातविहीन आप्रवासीलाई देशनिकाला गर्ने अभियान सुरु गर्ने घोषणा गरेका छन् ।
देशको सिमानाको निरीक्षण गर्न कट्टर आप्रवासन अधिकारी टम होमनलाई आफ्नो प्रशासनमा सामेल गर्ने पनि उनले बताए ।
‘म पूर्व आईसीई निर्देशक र सीमा नियन्त्रणका दृढ समर्थक टम होमन हाम्रो राष्ट्रको सीमाको जिम्मेवारीमा (‘बोर्डर जार’ का रूपमा) ट्रम्प प्रशासनमा सामेल हुने घोषणा गर्न पाउँदा खुसी छु,’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म टमलाई लामो समयदेखि चिन्छु र हाम्रो सीमाको प्रहरी र नियन्त्रणमा उहाँभन्दा राम्रो कोही छैन ।’
ट्रम्पले होमनलाई ‘सबै गैरकानूनी विदेशीलाई उनीहरूको मूल देशमा फिर्ता पठाउने’ जिम्मेवारी दिइने बताए ।
सन् २०२० को राष्ट्रपति निर्वाचनमा हार स्वीकार नगरेका ट्रम्पले नोभेम्बर ५ को चुनाव जितेर ह्वाइट हाउस फर्किन लागेका हुन् । उनले आगामी जनवरीमा राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन् ।
आफ्नो चुनावी अभियानमा उनले कागजातविहीन आप्रवासीहरूविरुद्ध बारम्बार आक्रोश व्यक्त गर्दै अमेरिकाको ‘रगत विषाक्त पार्ने’ व्यक्ति भन्दै उग्र भाषा प्रयोग गरेका थिए ।
ट्रम्पले सन् १७९८ को एलियन एनिमिज एक्ट प्रयोग गरेर आप्रवासी गिरोहहरूलाई सम्बोधन गर्ने बताएका छन् । उक्त एक्टले संघीय सरकारलाई शत्रु देशका नागरिकलाई पक्रन र देशनिकाला गर्न अनुमति दिन्छ । यो ‘अपरेसन अरोरा’ नाम दिएको सामूहिक देशनिकाला अभियानको हिस्सा हो ।